तिमीले मेरो नाम बिर्सियौ
म भने आफैँलाई नै बिर्सिने यात्रामा हराएँ ।
सानातिना सम्झनाहरू त धुवाँझैँ बिलाए
माया गर्ने अनुहारहरू कुहिरोमा हराए ।
आवाजहरू, हाँसोहरू, स्पर्शका न्यानोपन
सबैले समयको चक्रभित्र चुपचाप चिहान बसाए ।
हजुरबुवाका ती अमूल्य सिकाइ
आज मौनतामा कैद छन् ।
हजुरआमाका उखानहरू
समयको भेलले बगाएर कतै टाढा लगेछ ।
बाल्यकालका ती निर्दोष अर्तीहरू
अब केवल अधुरा सपना बनेर उभिएका छन् ।
किताबका अक्षरहरू, कक्षाका भित्ताहरू
सबै अपरिचित जस्तो लाग्न थालेका छन् ।
विगत…
निर्दयी छ, निष्ठुर छ, अनि निर्दोष पनि ।
यसले सम्झनाका फूलहरू
एक–एक गर्दै झार्दै लग्यो ।
बाल्यकाल ओझेल पर्यो, युवा अवस्था आयो
युवा अवस्थाको जोसमा
बिर्सिएँ सबै कुरा क्षणिक हो भन्ने सत्य ।
अनि जब वृद्धावस्थाले ढोका ढकढक्यायो
त्यतिबेला थाहा भयो
भुल्नु भनेको बिस्तारै मर्नु जस्तै रहेछ ।
भुल्नु कुनै सामान्य कुरा होइन
यो त भित्रभित्रै उम्रिएको घाउ हो
जुन देखिँदैन, तर चिच्याउँछ।
अल्जाइमरजस्तै
जसले मानिसलाई आफ्नै छायाबाट टाढा बनाउँछ ।
जीवनका सबै अध्यायहरू मेटिए पनि
सबै अनुहारहरू हराए पनि
एक ‘तिमी’ छौ
जसलाई समयले, पीडाले
अझैसम्म मबाट खोस्न सकेको छैन ।
किनभने…
तिमी केवल सम्झना होइनौ
मेरो अस्तित्वको अन्तिम सास हौ ।

