साहित्यपोस्ट डट कम

कविता : भ्रमको काख र आमा

कविता : भ्रमको काख र आमा

(लघुकविता)

१. भ्रमको काख र आमा

जीवनका गोरेटोहरूमा

मैले आमा, सानीआमा, सौतेनीआमा

र अरू धेरै आमाहरूको

मातृत्व, करुणा र क्रोध भोगेको छु

मेरो त्यो भोगाइले

समय घर्किसकेपछि मात्र थाहा पायो कि

सबै आमालाई “आमा” मान्नु

धोका र भ्रम पनि हुन सक्ने रहेछ

किनकि पुतनाले

आमा बनेरै कृष्णलाई

विषालु काखमा राखेकी थिइन्

२. परम्परा

परम्पराको नाममा

राउटेलाई अझै जङ्गलमै छाडिएको छ

सहर त्यसैमा खुसी छ

गाइनेलाई अझै

सारङ्गीको धुन बोकेर

गाउँ चाहार्न विवश पारिएको छ

संस्कृति त्यसैमा खुसी छ

र परम्पराकै नाममा

अझै हजार चोट दिएर

भक्कुको राँगो मारिएको छ

मानवता त्यसैमा खुसी छ

तर के यो परम्पराको खुसी

सबैका लागि

सधैँका निम्ति हुन सक्छ ?

परम्परा त आखिर

“सतीप्रथा” पनि परम्परा नै थियो

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.