साहित्यपोस्ट डट कम

कविता : भ्रम

कविता : भ्रम

दोबाटो बनेको

समयको त्यो असहज मोड

आ–आफ्ना सपना पछ्याउँदै

छुट्टिएका थियौँ कुनै दिन

चाँडै भेट्छौँ

वा भेट्दैनौँ

थोरै संशय

थोरै आशामा ।

तटस्थ र मौन

दुवैभित्र

उर्लिँदै व्याकुल समुद्र

मनकिनारसम्म

छालहरू ठोक्किरहे

निःशब्द !

किंकर्तव्यविमूढ हामीले

आवाज सुन्न छाडेका थियौँ ।

बिना सम्वाद

थुप्रिँदै भँगालोभित्र

तिमीलाई सोध्ने

र खोज्ने जमर्काहरूमा

धेरैलाई साक्षी

र हुलाकी बनाएकी छु ।

मेरो नियास्रो

साँझका हावाका

हल्का स्पर्शमा

तिमीले पनि

धेरै पटक भेटेका हौला।

पठाइ नसकिएका

प्रेमपत्रहरू

बादलका पत्रपत्रमा

आद्योपान्त

बाँचेका हौला ।

सोच्छु

व्यस्तताको बाढीमा

बगाइसकेका छैनौ अझै

भेलसँग बगी आउनेलाई सरि

पाखा लाइसकेका छैनौ मलाई।

तिम्रो सम्झनाको

कुनै कुनामा

अझै पनि

अल्झिएकै हुँला कतै

उस्तै हुँडलिएको होला तिमीभित्र

उस्तै हुटहुटी, उस्तै आतुरी !

तिमी फर्किन्छौ

बग्रेल्ती सम्झनाहरू बोकेर

पर्खिन्छौ

पहिलेझैँ

त्यहीँ मोडमा

कैयौँ–कैयौँ बेरसम्म ।

अनि भेटमा

गर्नेछौँ मनभरि

फेद न टुप्पाका

लम्बेतान गफहरू !

अफसोस !

अचेल

एक्लिएको पिपलको रुख

र चौतारीसँग

मेरो मीठो भ्रमको

सायद प्रत्युत्तर छैन ।

समयको बगाइमा

बग्नुपर्ने बाध्यता

परिस्थिति कि उदासीनता ?

नबिर्सेको सप्रमाण

तिमी आएका छैनौ

सजिलै सम्झायौ

या झुक्यायौ

आफूलाई ?

न बाडुल्की

न सपनाको तरङ्ग !

सम्बन्धका सेतु

के यति कमजोर हुन्छन् ?

मलाई लाग्छ

मेरो प्रश्न नै

निरर्थक छ

किनकि

भ्रममाथि टेको राखेर

बिर्सनेसँग

विश्वासको

‘ब्लुप्रिन्ट’ माग्नुको

के कुनै औचित्य

रहन्छ र !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.