कहिलेसम्म
बाउ–बाजेको पाटीलाई धर्म ठानी
नेतालाई भगवान् मानी बोकेर हिँडिरहन्छौ
पार्टीको झोला ?
साँच्चै भन
तिमी पढे-लेखेको चेतना हौ कि
प्रमाणपत्र बोकेको अन्धो विश्वास ?
या दृष्टिविहीन अशिक्षित ?
तिमी देख्दैनौ ?
कि देखेर पनि आँखा बन्द गर्ने अभ्यासमा
निपुण भइसकेका हौ ?
विदेशमा लिलाम हुँदै गरेको हाम्रो पसिना देख्दैनौ ?
खाली घरका ढोकामा झुन्डिएका तालाहरू देख्दैनौ ?
उजाड गाउँ, सन्तानको पिरले एक्लै तड्पिएका
बुढा बा–आमाका अनुहार
तिमीलाई कुनैले कत्ति पनि छुँदैन ?
अक्षर नचिन्ने तर नियति लेख्नेहरू
सभ्यताको मिथक बुन्दै वर्षौँदेखि
गरिबको छातीमाथि क्रूर नाच नाचिरहेका छन्
सत्ताको जुत्ता घिसारिरहेका छन्,
तिमी त्यो देख्दैनौ ?
समाजवादको सपना देखाएर पुँजीवादलाई अँगालो हाल्ने
सत्याग्रहीमाथि हत्या, हिंसा, बलात्कार
छलछाम र लुटपाटजस्ता अमानवीय कुकर्महरू
तिमी देख्दैनौ ?
हो, तिमी देख्दैनौ !
किनकि तिम्रो बुद्धिमा
पार्टीको झोलाको तुनो यति कसिएको छ कि
रगतमा मुछिएको देश, लाखौँ युवाका मरिरहेका सपना
तिम्रा आँखाले देख्नै मान्दैनन्।
तिम्रा कानले देशको चिच्याहट
गरिब जनताको करुण क्रन्दन सुन्नै मान्दैनन् ।
यहाँ बुद्धि होइन वंश चल्छ, योग्यता होइन नाता चल्छ
मेहनत होइन पहुँच चल्छ
घात, हिंसा, झुटा कथा र प्रपञ्च सबै चल्छ ।
तर, यी सबैबाट तिमी अनभिज्ञ छौ
किनकि “भनिने” हरूका हात तिम्रो टाउकोमाथि
आशीर्वाद बनेर बसेका छन् ।
यत्रा वर्ष सत्ता तिम्रै हातमा थियो
खोइ त विकास ? खोइ रोजगारी ? खोइ रोजीरोटी ?
भन त, म केलाई विकास मानूँ ?
करको लाठीले निमुखाको रगत चुस्नुलाई ?
रेमिटेन्स र बाह्य ऋणको थुप्रोमा चम्किएका
डाँडैपिच्छेका खोक्रा भ्यू-टावरहरूलाई ?
केलाई मानिदिऊँ ?
उजाड खण्डहर बस्तीलाई ?
खाली घरमा बताससँग रोइरहेका झ्यालहरूलाई ?
कि सन्तानको प्रतीक्षामा नुन जमाएर बसेका
बाबा-आमाका आँखाहरूलाई ?
अचम्म !
खरिदार हुन योग्यता चाहिने
देश चलाउन नालायक हुनु नै काफी हुने !
हेर न ! आज देश मान्छे निर्यात गर्ने कलकारखाना बन्न पुग्यो
युवा निर्यात देशको ठुलो सपना
अनि पासपोर्ट सबैभन्दा ठुलो योग्यता ।
तिमी नेताको खोक्रो भाषणमा ताली पिट्छौ
म भने त्यही तालीभित्र देश र जनताका मरेका सपना देख्छु ।
त्यसैले भन्छु— समय छँदै सचेत बन
कति आफ्नै घाँटीमा फन्दा कसेर
आफ्नै भविष्यको लास बोकेर हिँडिरहन्छौ ?
छोडिदेऊ बोक्न अब पार्टीको झोला
आऊ, अब सँगै सबैले देशको झोला बोकौँ
नेपाली बनौँ।
नत्र, जुन दिन तिमीले बोकेको झोलाको तुनो फुस्कन्छ
त्यो दिन ढिलो भइसकेको हुनेछ ।
केही बाँकी रहने छैन— न पार्टी, न नारा, न देश ।
अन्त्यमा
थन्किनेछन् तिम्रा प्रमाणपत्रहरू सन्दुकको अँध्यारो कुनामा
पर्खिरहेको हुनेछ खाडीको तातो घाम
तिमीलाई पनि, तिम्रा सन्तानलाई पनि, हामीलाई जस्तै ।
र बन्नेछ एउटा खण्डहर जिन्दगी
जहाँ मर्ने बेलासमेत भेटाउने छैनौ
एक अञ्जुली तातो पानी, सन्तानको हातबाट
कयौँको जस्तै !

