रुब्–अल–खालीको घाम
स्वदेशको जस्तो न्यानो कहाँ छ र ?
भोग्नेलाई मात्र थाहा हुन्छ
मरुभूमिको निष्ठुरी आकाशमा
सूर्य होइन
उसकै शिरमाथि
आगो झुन्डिएको हुन्छ ।
त्यही रापमुनि
भीमबहादुर
दिनभर पसिनाले निथ्रुक्क भिजिरहन्छ ।
फलामका कङ्कालजस्ता
क्रेनहरूको छायामा
ऊ तातो बालुवामाथि
सपनाको बिस्कुन सुकाउँछ ।
लेबर क्याम्पको साँघुरो कोठामा
थकित साँझ छिर्छ
मोबाइलको उज्यालो बल्छ
स्क्रिनमा ब्युँझिन्छ
पहाडको काखमा
ऋणले थिचिएको घर,
तुलसीको मठछेउ
उसको मङ्गलका लागि
धूप बाल्दै गरेकी आमा ।
ऊ आँखा चिम्लिन्छ
दिन जसोतसो ढल्छ
रात भने सर्दैन
छातीभित्र गाँठो परेझैँ अड्किरहन्छ ।
भूमरीको पातझैँ काँपिरहेको मनमा
एक्कासि चुनावको खबर आइठोक्किन्छ ।
ऊ जहाज चढ्छ
मरुभूमिबाट थकित चरा
आफ्नो वन सम्झेर
घर फर्किँदै छ ।
स्वदेशको हावामा सास फेर्दै
उसले महसुस गर्छ
देश भनेको
नक्साभन्दा बढी
थाकेका पाइला टेक्ने
अन्तिम आँगन रहेछ ।
गाउँ पुग्दा
भित्ताहरू नयाँ आश्वासनले रङ्गिएका छन्
लाउडस्पिकरहरू
भविष्यका गीत गाइरहेका छन् ।
ऊ चुपचाप पर्खिन्छ
र पालो आउँदा
आफ्नो रगत–पसिनाको मूल्य
मतपेटिकामा खसाल्छ ।
औँलामा लागेको मसी हेर्दै
उसलाई लाग्छ
आज देशले
उसको देहमा
आफ्नै हस्ताक्षर गरेको छ ।
राति
गाउँको आकाशमुनि
ताराहरू गन्दै गर्दा
उसले फेरि खाडी सम्झिन्छ ।
साथीहरूको आवाज
“तँ त घर जाँदै छस्…
हामी कहिले जान पाइएला, खै ?”
जहाज चढ्ने बेला
उसले आकाशतिर हेर्दै सोच्छ
“मुगलान पस्न नपर्ने
त्यो उज्यालो दिन कहिले आउला ?”
ऊ भरोसाका अनुहारहरू नियाल्छ
र सोध्छ
“विश्वासको यो विशाल नदी
बगेर कहाँ पुग्ला ?
कतै यसपालि पनि
खहरेझैँ बीचमै सुक्ने त होइन ?”

