भेटिनु आफैँमा जीवनको निरन्तर कर्मगति हो
जहाँ हजारौँ अनुहार
हजारौँ छाया
मौनतामै हराइरहेका हुन्छन् ।
तर, तिमीसँगको साक्षात्कार
कुनै संयोग मात्र पक्कै रहेन।
आँखा जुध्दा, शब्दहरू थाके होलान्
र दुई मुस्कानकै बीच हामी बोलिरह्यौँ ।
हामी दुई, भीडको बीचमा उभिए पनि
आफ्नै मौन संसारमा हराइरह्यौँ ।
तिमी अलिक पर बसेकी त थियौ
तर हाम्रो मनको दूरीबीच
म तिमीसँगै टाँसिएर बसेको थिएँ
तिम्रो न्यानो अँगालोभित्र लाग्दथ्यो
समय पनि शान्त भएर सुतेको छ।
त्यो अनुभूति
जहाँ दूरीले अर्थ गुमाउँछ
जहाँ स्पर्शबिना पनि मनले मनलाई छोइदिन्छ ।
सायद म साँच्चै भाग्यमानी थिएँ,
जब हजारौँ भेटको विचरणमा तिमीलाई पनि भेटेँ
र आज त्यही मिठो भेट
मेरो जीवनको सबैभन्दा सुन्दर गन्तव्य बन्यो ।

