साहित्यपोस्ट डट कम

कविता : भेट

कविता : भेट

भेटिनु आफैँमा जीवनको निरन्तर कर्मगति हो

जहाँ हजारौँ अनुहार

हजारौँ छाया

मौनतामै हराइरहेका हुन्छन् ।

तर, तिमीसँगको साक्षात्कार

कुनै संयोग मात्र पक्कै रहेन।

आँखा जुध्दा, शब्दहरू थाके होलान्

र दुई मुस्कानकै बीच हामी बोलिरह्यौँ ।

हामी दुई, भीडको बीचमा उभिए पनि

आफ्नै मौन संसारमा हराइरह्यौँ ।

तिमी अलिक पर बसेकी त थियौ

तर हाम्रो मनको दूरीबीच

म तिमीसँगै टाँसिएर बसेको थिएँ

तिम्रो न्यानो अँगालोभित्र लाग्दथ्यो

समय पनि शान्त भएर सुतेको छ।

त्यो अनुभूति

जहाँ दूरीले अर्थ गुमाउँछ

जहाँ स्पर्शबिना पनि मनले मनलाई छोइदिन्छ ।

सायद म साँच्चै भाग्यमानी थिएँ,

जब हजारौँ भेटको विचरणमा तिमीलाई पनि भेटेँ

र आज त्यही मिठो भेट

मेरो जीवनको सबैभन्दा सुन्दर गन्तव्य बन्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.