आज भानुजयन्ती
आयोजकले समारोह भव्य रूपमा
आयोजना गरेका छन् ।
फूलमाला लिएर हर्षोल्लासका साथ
रामायण पाठ भइरहेको
कविता वाचन गरिरहेका साहित्यकारहरूको
भीड जमेको छ
बौद्धिक जमात एकदमै खुसी देखिन्छन् ।
तर मलाई भानुको ओठमा
मुस्कान नझल्किएझैँ लाग्यो
कताकता भानु दुःखी छन् जस्तो लाग्यो
किन होला ? प्रश्न आफैँभित्र जाग्यो ।
प्रश्नको उत्तर आफूभित्र नपाएपछि
अन्तमा मैले भानुलाई नै सोधेँ
"के भयो भानु ??
तिम्रो जयन्ती यत्रो भव्यताका
साथ पालन गर्दा पनि
तिमी किन खुसी छैनौ ?"
बोल्न मन नलागी–नलागी
उनले जवाफ दिए
"हिजोअस्ति मैले सुनेको थिएँ
दुई–चार युवकले भन्दै थिए
नेपाली भाषा तुच्छ भाषा
काम नलाग्ने भाषा
अङ्ग्रेजी भाषा स्तरीय भाषा
स्कुल–कलेजमा पढ्नैपर्ने
अङ्ग्रेजी भाषाको जति
नेपाली भाषाको मूल्याङ्कन छैन
नेपाली भाषालाई अङ्ग्रेजी भाषामा गाली दिएर गए ।
'यो गाउँले भाषा हो'
'यसले पेट पाल्दैन'
'अङ्ग्रेजी बोल्न नसक्ने मान्छे, मान्छे होइन'।"
भानुले 'रामायण' नेपालीमा लेखेर दिए
उनकै सन्तानले त्यही भाषालाई
जुत्ताले कुल्चिरहेको थाहा पाउँदा
भानु रिसाएका रहेछन् ।
भानुले 'स्वदेशी भाषा' भनेर ज्यान दिए
उनकै रगतले त्यही ज्यानलाई विदेशी
शब्दले छिया–छिया पारिरहेको थाहा पाउँदा
मन दुखाएका रहेछन् ।
अनि देख्थेँ म भानुको ओठमा मुस्कान ??
भानु बोलेनन्
किनकि उनको मौनताभन्दा ठुलो जवाफ थिएन ।
उनको मौनताले चिच्यायो
"मैले दिएको भाषा तिमीले बुझेनौ
मैले लेखेको रामायण तिमीले पढेनौ
मैले मागेको स्वाभिमान तिमीले बेच्यौ
अब म तिम्रो तालीमा किन हाँसूँ ?"
समारोह सकियो
भीड हराउँदै गयो
लाउडस्पिकर बन्द भयो ।
तर आजदेखि त्यो शालिक
अघि भएको हरेक गतिविधिमा
भानुले ध्यान दिइरहेका हुन्छन्
जसको कारण फेरि
अर्को भानुजयन्तीमा
भानुको ओठबाट उनको
मुस्कान गायब हुनेछ ।


