ज्ञान, विद्या र नैतिकताको उज्यालो बनेर
हार, पश्चात्ताप र कमजोरीमाथि
धैर्य, ममता र विश्वासको सेतु बाँध्दै
अहम्, साहस र भरोसाको दीप बालेर
सारा जगत्लाई कृतज्ञ बनायौ तिमी ।
प्रेरणा बनेर
हरेकको श्वास–प्रश्वासमा बस्यौ
कमजोरीका क्षणहरूमा पनि
आत्मबल र अदम्य साहस बनेर उभियौ ।
छरिएका शब्दहरूलाई
एउटै मालामा उनेर
मनको ढोका र ज्ञानका बाटाहरू
पारदर्शी बनाउने अमूल्य योगदान दियौ ।
इतिहास आज पनि बोलिरहेको छ
तिम्रो अविस्मरणीय यथार्थ।
रामायण अझै गुन्जिरहेछ
आराधना, मठ र मन्दिरहरूमा ।
तिम्रै सम्झनामा
सलामीका झन्डाहरू फहराइरहेका छन्
अनुसरण र कृतज्ञताको भाव बोकेर
मनका बाजाहरू बजिरहेका छन् ।
अञ्जलीभरि सप्तरङ्गी फूल लिएर
तिम्रा चरणमा श्रद्धा अर्पण गरिन्छ ।
सम्झना र सम्मानमा
छाती फराकिलो पारेर
लामो श्वाससँग गर्व गरिरहेका छन्
घाँसी कुवा र अनगिन्ती स्मृतिका पानाहरू ।
तिम्रो नाम अमर रहोस् भन्दै
सधैँ गीत गुन्जिरहून्
मनको एउटै शब्दमा...


.jpg)