साहित्यपोस्ट डट कम

कविता : भकुण्डो, भानु, पृथ्वी र गोल !

कविता : भकुण्डो, भानु, पृथ्वी र गोल !

आफ्नै खेल मैदानमा खेल्नको लागि

स्रष्टाले तुनेको भकुण्डोभित्र

शब्दतत्व र हिमाली हावा

फुसफुसाइरहेको देखेनौ कि ?

भानुशक्तिको अवतरणसँगै

पृथ्वीको मौलिक साहसले

हाम्रो जन्मभूमिलाई

टिमिक्क मिलेको देखेनौ कि ?

ए कोचर दाजु !

साहसिक गोलले हाम्रो खुसी चुम्दा

एक अम्खरा पानीले गला भिजाउँदै

खण्डहरको अखण्ड जोडाइ

भएको मेरो देशको नक्सा ।

मेरै लुजिन्की रङ्गशालाभित्र

हाम्रो पृथ्वी गर्जँदै

लुका मोड्रिचको गोल ! गोल !!

हाम्रा भानुले गाएको अलकापुरी

अहिलेसम्म सुनिएकै छ त !

मेरो छातीभित्र लुकेको कप्तान लुका

र मेरा भानु उस्तै गरी सुसाइरहेछन्

रगत, पसिना र श्रम सुन्दरताबीच

हाम्रा कप्तान पृथ्वी गर्जिएकै छन् त !

पाँच पटकका ब्यालोन डी’ओर विजेता

रोनाल्डोको सन्नाटाबीच

मारियो इभानको सपना तुनेर

पाखामा भानु भाखा गुन्जिएकै छ त !

अन्तिम सोह्रको ट्राइब्रेकर,

ह्यारी केनको पसिना विजय,

ट्रिपियरको गति, मन्जुकिचको आवाज

पृथ्वीको एक हुङ्कारले हल्लिएकै छ त !

भानु भजनसँगै विजयभोज गर्दै

आकाश ब्युँझेका ती गोधूलि साँझहरू

हिमालमा छरिएको पहेँलो प्रकाश

कसरी बिर्सन सक्छन् होला मान्छेले ?

गायत्री माला हातमा लिएर मञ्जु मन्त्र

र भक्ति भजन मधुर स्वरमा

आमाले छोरीलाई सम्झाउँदै बिदाइ गरेका

आशिष् श्लोकहरू क्षणभरमै कसरी फर्किन्छन्

आफ्नै कानमा ?

उपहासको शब्दलता

मेरा फुटबलका गोलकिपर एन्टोनी र एम्बाप्पे

तीन तीन गोलको मेरो इतिहास

आहा ! उत्सवमय हाम्रो इतिहास !!!

सम्झने मात्र प्रयत्न गर,

बिर्सने तिमीलाई रहर हुने छैन

मेरा शब्द र भीर पाखा बटुलेका

सामर्थ्यको बारुदी सुरुङभित्र

बुद्धको करुण ज्योति।

आफ्नै साहसले इतिहास छिमलेका

भूमिपुत्रहरूको मन्त्रणा मात्र गर

आर्सेन र ल्युडमिलालाई हाम्रा गोलहरूले

क्षतविक्षत हुन दिने छैन

रोनाल्डो र मेस्सीको हारले

मेरो देशको हार हुने छैन ।

अपराजित स्यामुअलको गोल साहसले

टाकुरा छुँदै पुनः पुनः गोलपोस्ट चुमिरहोस् !

सपनाको झरी यी आँखाभरि

एम्बाप्पे आशामा

डडियस र म्यानुअल म्याक्रो बनेर

कोलिन्डाको नाचसँगै भानु आत्मा ब्युँझिरहोस् !

कजान हुत्तिनुमा जर्मनीको के दोष ?

अर्जेन्टिना र ब्राजिल

करियरको हिलोभित्र फक्रिएको कमल !

सजगताको परिहास

अचेत र मदहोसले निष्ठा अलापिनु हुन्न !

सब बकवास ! कल्पना !!

भोको आशालाई दोष नदेऊ

सम्भावनालाई फर्केर नथुक

किनकि अब कोलिनको केवल

दुई प्रहारमा निराश मेस्सीहरू ब्युँझिनुपर्छ !

साहसका टुक्राटाक्रीहरूलाई

भानु कान्तिले जोड्दै आफ्नै धरामा

मोती खोज्न हिँड्नुपर्छ

सुशासन र समृद्धिको अन्तिम गोलले

भोका खेलाडीहरू बौरिनुपर्छ ।

कजानको निराश बसाइ

लुजिन्कीको निर्णयले विजयको गीत गाइरहनेछ।

खेलको कुरा न हो !

हार–जित हुन्छ

हुन्छ तर मनभित्र खेल हारिँदैन

मैदानमा हारिन्छ!

आशा मर्दैन

पुनः खेलिन्छ

मनोदशा गिर्न दिनु हुँदैन

सपनालाई मर्न दिनु हुँदैन !

भनिन्छ भावनाको समायोजन हुँदैन भने

बाँझा समस्या किन जन्माउनु ?

भ्रमणले रतिराग मिल्दैन भने त्यहाँ

छुट्टीका दिन किन मनाउन जानु ?

सत्य वचन, सपनाले आकाश चुमे पनि

गोलहरू अझै बाँकी छन् ।

विभत्स रगतले भरिएको

जीर्ण निराशाले थलिएको मनभित्रको आहत

राहत र तृप्तिको लागि विकल्प छैन जोगाउनुको !

मूर्छित आशाभित्रको रुँदै गरेको मेरो वर्तमान

निर्णयलाई पर्खंदै भविष्यलाई निहारिरहेछ ।

भानु र पृथ्वीजस्ता महारथी

धर्तीमा सिंहझैँ गर्जँदै

लयबद्ध इतिहासमा ‘नगर न ढिला’

आशयमा भविष्यलाई बोलाइरहेछन् ।

सुन्यौ ? कसैलाई कजान नफापेर के भो त ?

सपना बतासिँदैमा एम्बाप्पेको चोट

पुनः जाग्नेछ धर्तीमा !

ब्राजिलको अँधेरी रात

जर्मनीको कोलाहल

तिखारिएको चेतना

निराश हुँदैन पटक पटक !

ब्युँझिने छन् मेरा खेलाडी

उज्यालिनेछ मेरो पुस्ता

सिँगारिनेछ मेरो भाषा

खारिनेछ मेरो देश !

सम्पन्नता, समानता र स्वतन्त्रता

तीन गोलले पोस्ट चुम्नेछ

अनि रङ्गिनेछ मेरो कविताको इन्द्रेणी ।

पुनः भन्छु मित्र

थाइल्यान्डको गुफामा निसास्सिएका बालकहरूझैँ

हजारौँ वर्ष जेलमा बिताएका

हाम्रा शब्दरूपी बालखेलाडीहरू

तातेका छन् खेलाडीजस्तै !

र उनीहरूको साहित्य–सौन्दर्यलाई

भानुले छरेको बीजमा

गोताखोरले झैँ जीवन खोजिरहेछन् !

मोतीको अभिलेख बस !

भन्नु केही छैन अब

एकपटक गम

इतिहासको मजाक नगर !

केवल सम्झिदेऊ

अन्तर्मनको विश्वकपमा

आनन्दै आनन्दको विजय जुलुसमा

मनैमन नारा लगाउनेछौ

अमर भानु कथा जीवनभरि गाउनेछौ।

डिल्ली अम्माइ

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.