मेरो देशले दिएको रोजगारीको
पारिभाषा
रोजगार सिर्जना गर्न
कहाँ थियो र ?
रोजगारीको खोजीमा भौंतारिएको
युवाले
विदेशमै भए पनि
थोरै रोजगारी पाएको थिएँ
केवल पाउन बाँकी
धेरै थिए
तर सरकार
म रोजगार नबन्नुमा
तिमी दोषी कि मेरो श्रम ?
मेरा हातले
बाँसका चोया खिपेर
सजावटको सामान बनाउन सक्छु
दैनिक उपभोगको सामान बनाउन सक्छु
दैनिक उपयोगिताको सामान बनाउन सक्छु
तर मेरा सामान यहाँ
अछुत हुन थाले
किनकि
मैले बनाएको सामानमा
मौलिक कला छ
अर्गानिक स्वाद छ
तर मेरो सरकार
विदेशी सामान किन्न तल्लिन छ
त्यसैले त सरकार
म रोजगार नबन्नुमा
म दोषी कि तिम्रा कानुन ?
मेरो देशको सहरमा
नेपाली खाना पाउनै छाडिसक्यो
विदेशका ठुला ठुला होटलमा
गुन्द्रुक ढिँडो पाक्दै गर्दा
मेरो देशमा
पिज्जा र बर्गर छ्यापछ्याप्ती भएको छ
बिहान बिहान भुटीभात खाने छोरी
बा आज म पाउरोटी खान्छु
भन्न थालेकी छ
अनि सिस्नोको ठाउँ आज
मसरुम सुपले ओगट्न थालेको छ
त्यसैले सरकार
म रोजगार नबन्नुमा
मेरो देशको आयात नीति कि उत्पादन ?
हुन त म भटमाससँग
चाउचाउ साट्छु
मकैसँग चामल साट्छु
अनि कोदासँग
मदिरा साट्छु
कसैले सोधे मलाई
म त दाल भात तरकारी
खान्छु भन्छु
चामलकै भात खान्छु भन्छु
किनकि मेरो देशको
सहरिया संस्कारले
कोदाको ढिँडोलाई तिरस्कार गरेको छ
मकैको थ्याप्लोलाई बहिस्कार गरेको छ
भटमासका दानालाई नसामा बदलेको छ
किनकि यहाँ
विदेशबाट मकै ल्याउनु छ
गहुँ ल्याउनु छ
चामल ल्याउनु छ
अनि देशको ढुकुटीबाट
विदेशीलाई रकम भुक्तान गर्नु छ
किनकि मेरो देशका शासक
जनता मारेर विदेशीको गुलाम बन्नु छ
त्यसैले त सरकार
म रोजगार नबन्नुमा
मेरो राष्ट्रियता कि तिम्रा गुलाम नीति ?

