साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : बेहाल वृत्तिहरू

कविता : बेहाल वृत्तिहरू

भुस्याहा जति रेबिज बोकेर गाउँघर पसेका छन्
तजबिज तोकेर घुस्याहा र बिचौलिया
सहरभित्रै बसेका छन् ।
सुझबुझबिनाका मख्याहाहरू भने
ब्युटीपार्लर र सेलुनतर्फ छिरेका छन्
बुख्याचा भने सजिएर बुर्कासनमा
खेतबारीका गरा, कान्ला र डिलडिलमा
ठिङ्गिएका छन् ।

उता मिचाहाहरू ठेल्दैछन् साँधसिमाना
खाँदैछन् पनि ढुङ्गामुढा
त्यसैले एकछिनका लागि
भाग्दै पनि छन्
फेरि एकैछिनमा उही स्थितिमा फिर्दै पनि छन् ।
बिरालोले सिकार ढुकेझैँ
कहिले झम्टा मार्ने दाउमा
नजानिँदो गरी उतै कतै छिर्दै पनि छन् ।
जता जाऊ, त्यतैतिर
बिछ्याइएको छ जाल
बसेका छन् जालीहरू गाली पचाएर ।
मानवीय प्रवृत्तिका आहाल छन् यहाँ
र बेहाल वृत्तिहरू छन् ।

यी हरेक बेहिसाबका हरकत हुन्
कोही ठान्ला बर्कत यिनलाई
कोही मान्ला सर्कस यिनलाई
तर मेरो देशका निम्ति बेतुक बुनोट र हविगत हुन् ।
चल्दैन खटनपटन पनि यहाँ आफ्नो
सायद थिचिरहेछ रिमोटरूपी सामासामग्री/सामासर्जाम कसैले ।
बेसुरा, बेसोमती चाला छ
पतवारविहीन डुङ्गाको सवारजस्तै लाग्छ
नक्साबिनाको यात्रु भएर दौडिनुमा हतार छ
जब कि सिधै अगाडि भयङ्कर गजबार छ ।
कुहिरोभित्रको कागजस्तै बनेर पौडिनुपर्ने
निकास र आकाश निराकार छ, निराधार छ ।

ट्याग: पदम दाहाल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.