साहित्यपोस्ट डट कम

कविता : बटुवा

कविता : बटुवा

बाटैबाटो, बाटो खोज्दै

निकै टाढाबाट आइपुग्यो ऊ

र भेट्यो मलाई त्यही दोबाटोमा

जहाँ म रोकिएको छु

शून्यताको पर्खालभित्र, अनन्तकालदेखि चुपचाप ।

मेरा आँखाहरूमा क्षितिजको रङ्ग छ

र गोडाहरूमा विस्मृतिको जग ।

सिसिफसको ढुङ्गाझैँ, म

आफ्नै अस्तित्व उचालेर ठिङ्ग उभिएको छु ।

उसलाई लाग्छ यो मेरो पराक्रम हो

मलाई थाहा छ यो मेरो विवशता हो ।

नजिकै आएर सोध्छ ऊ “कुन बाटो लक्ष्य भेटिएला ?”

म बोल्दिनँ ।

उसले मेरो सङ्केत हेर्छ

मेरो मौनतालाई धैर्य ठान्छ

मेरो तटस्थतालाई निर्वाण देख्छ

मेरो सन्नाटामा आराम देख्छ

विवशतामा ध्यान देख्छ ।

उसलाई लाग्छ

म यो ठाउँको संरक्षक हुँ

मभित्र ज्ञानको अथाह सागर छ

मेरो शान्त स्वभावमा मेरो प्राप्ति छ ।

म त कुनै कल्पवृक्ष हुँ

मसँग हरेक प्रश्नको उत्तर छ ।

उसलाई लाग्छ

मेरा आँखाहरू उसको काँध नाघेर पर सडकसम्म पुगेका छन्

जहाँ यो सहरले रचेका हरेक प्रपञ्च मैले देखेको छु ।

हुन त

यो सडकमा कहिले उन्मत्त जुलुस बज्रिन्छन्

कहिले उत्सवका रङ्ग मिसिन्छन् ।

कोही प्रतिशोधको राँको बोकेर चिच्याउँछन्

कोही अट्टहासमा खुसीले दङ्ग भेटिन्छन् ।

मानिसहरू आउँछन्

महत्त्वाकाङ्क्षाको भारी बिसाउँछन्

सपनाका कुम्लो बोकेर दौडिन्छन्

पाइलाका डामहरू छोडेर जान्छन् ।

उसलाई लाग्छ

म उनीहरूको सङ्घर्षको मौन साक्षी हुँ

अलमलिएका पाइलाहरूको दिशा हुँ

म सफलताको, गन्तव्यको निशानी हुँ

सपनाहरूको आश्रय हुँ ।

उसलाई लाग्छ

सडकका नारा जस्तै गुञ्जने माग र गुनासाहरू

टायरका धुवाँ जस्तै निसास्याउने अनगिन्ती चिन्ताहरू

मान्छेको ताँती जस्तै खात लागेका तीखा अपेक्षाहरू

सबैको बीचमा म एउटा अडिग पहाड हुँ, अटुट भरोसा हुँ ।

उसले त मलाई समुद्र मन्थनको शिव देख्छ

सारा हलाहल विष पिएर नीलकण्ठ देख्छ ।

उसलाई लाग्छ

कोलाहलले मेरो शान्ति खल्बलिँदैन

धुवाँले मेरो दृष्टि धमिलिँदैन

मलाई कहिल्यै विश्रामको रहर लाग्दैन

मलाई कहिल्यै तिर्खा र भोक लाग्दैन ।

कसरी भनूँ म उसलाई

यो त उसको मनको एउटा विरोधाभास मात्र हो ।

जसरी बादलको टुक्रामा कसैले ईश्वरको अनुहार देख्छ

उसले मेरो रित्तोपनमा आफ्नो सहारा देख्यो ।

भोको मान्छेले ढुङ्गामा रोटीको आकृति खोजेझैँ

उसले मेरो मौनतामा आफ्नै उत्तरहरू कोर्यो ।

थाहा पाएन उसले

म त बिर्सिएका आशाहरूको मौन सङ्कलन हुँ

म त उड्न नसकेका पखेटाहरूको मसानघाट हुँ ।

म कुनै महानताको चिनारी होइन

मेरो काँधमा अडिएको जिम्मेवारीको भारी होइन ।

म त संयोगले, मुक्ति खोज्ने बाटो हेर्दाहेर्दै कुरुवा भएको हुँ

समयको धुलोले पुरिएर बिस्तारै कठोर भएको हुँ ।

विचरा बटुवा !

जसले मलाई ज्ञानी ठानेर ढोग्यो

मेरो रित्तोपनमा सौभाग्य पायो ।

एउटा निर्जीव सालिकलाई चिन्न सकेन

अब… अब कतै हराउने भयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.