बाटैबाटो, बाटो खोज्दै
निकै टाढाबाट आइपुग्यो ऊ
र भेट्यो मलाई त्यही दोबाटोमा
जहाँ म रोकिएको छु
शून्यताको पर्खालभित्र, अनन्तकालदेखि चुपचाप ।
मेरा आँखाहरूमा क्षितिजको रङ्ग छ
र गोडाहरूमा विस्मृतिको जग ।
सिसिफसको ढुङ्गाझैँ, म
आफ्नै अस्तित्व उचालेर ठिङ्ग उभिएको छु ।
उसलाई लाग्छ यो मेरो पराक्रम हो
मलाई थाहा छ यो मेरो विवशता हो ।
नजिकै आएर सोध्छ ऊ “कुन बाटो लक्ष्य भेटिएला ?”
म बोल्दिनँ ।
उसले मेरो सङ्केत हेर्छ
मेरो मौनतालाई धैर्य ठान्छ
मेरो तटस्थतालाई निर्वाण देख्छ
मेरो सन्नाटामा आराम देख्छ
विवशतामा ध्यान देख्छ ।
उसलाई लाग्छ
म यो ठाउँको संरक्षक हुँ
मभित्र ज्ञानको अथाह सागर छ
मेरो शान्त स्वभावमा मेरो प्राप्ति छ ।
म त कुनै कल्पवृक्ष हुँ
मसँग हरेक प्रश्नको उत्तर छ ।
उसलाई लाग्छ
मेरा आँखाहरू उसको काँध नाघेर पर सडकसम्म पुगेका छन्
जहाँ यो सहरले रचेका हरेक प्रपञ्च मैले देखेको छु ।
हुन त
यो सडकमा कहिले उन्मत्त जुलुस बज्रिन्छन्
कहिले उत्सवका रङ्ग मिसिन्छन् ।
कोही प्रतिशोधको राँको बोकेर चिच्याउँछन्
कोही अट्टहासमा खुसीले दङ्ग भेटिन्छन् ।
मानिसहरू आउँछन्
महत्त्वाकाङ्क्षाको भारी बिसाउँछन्
सपनाका कुम्लो बोकेर दौडिन्छन्
पाइलाका डामहरू छोडेर जान्छन् ।
उसलाई लाग्छ
म उनीहरूको सङ्घर्षको मौन साक्षी हुँ
अलमलिएका पाइलाहरूको दिशा हुँ
म सफलताको, गन्तव्यको निशानी हुँ
सपनाहरूको आश्रय हुँ ।
उसलाई लाग्छ
सडकका नारा जस्तै गुञ्जने माग र गुनासाहरू
टायरका धुवाँ जस्तै निसास्याउने अनगिन्ती चिन्ताहरू
मान्छेको ताँती जस्तै खात लागेका तीखा अपेक्षाहरू
सबैको बीचमा म एउटा अडिग पहाड हुँ, अटुट भरोसा हुँ ।
उसले त मलाई समुद्र मन्थनको शिव देख्छ
सारा हलाहल विष पिएर नीलकण्ठ देख्छ ।
उसलाई लाग्छ
कोलाहलले मेरो शान्ति खल्बलिँदैन
धुवाँले मेरो दृष्टि धमिलिँदैन
मलाई कहिल्यै विश्रामको रहर लाग्दैन
मलाई कहिल्यै तिर्खा र भोक लाग्दैन ।
कसरी भनूँ म उसलाई
यो त उसको मनको एउटा विरोधाभास मात्र हो ।
जसरी बादलको टुक्रामा कसैले ईश्वरको अनुहार देख्छ
उसले मेरो रित्तोपनमा आफ्नो सहारा देख्यो ।
भोको मान्छेले ढुङ्गामा रोटीको आकृति खोजेझैँ
उसले मेरो मौनतामा आफ्नै उत्तरहरू कोर्यो ।
थाहा पाएन उसले
म त बिर्सिएका आशाहरूको मौन सङ्कलन हुँ
म त उड्न नसकेका पखेटाहरूको मसानघाट हुँ ।
म कुनै महानताको चिनारी होइन
मेरो काँधमा अडिएको जिम्मेवारीको भारी होइन ।
म त संयोगले, मुक्ति खोज्ने बाटो हेर्दाहेर्दै कुरुवा भएको हुँ
समयको धुलोले पुरिएर बिस्तारै कठोर भएको हुँ ।
विचरा बटुवा !
जसले मलाई ज्ञानी ठानेर ढोग्यो
मेरो रित्तोपनमा सौभाग्य पायो ।
एउटा निर्जीव सालिकलाई चिन्न सकेन
अब… अब कतै हराउने भयो ।

