साहित्यपोस्ट डट कम

कविता : बाटो र गन्तव्य

कविता : बाटो र गन्तव्य

हिँड्दै जाँदा मैले सोचेँ

आखिर गन्तव्य नै सबै कुरा त हो

जहाँ पुगेपछि सबै थकाइ बिसाइन्छ

सबै भावना र सपनाहरूको अन्त्य हुन्छ

जहाँ आफू, आफू हुन सकिन्छ अनि

अनि भन्न सकिन्छ, “यो पूरा भयो ।”

तर, के यो गन्तव्य त्यति सहज छ ?

कोहीबिना या कसैको साथबिना ?

त्यही पल बाटोले चुपचाप भन्यो

“मबिना तिमी कहाँ पुग्न सक्थ्यौ र ?”

धुलोले भरिएका पाइला

घामले डढेको अनुहार

जिम्मेवारीले लत्रेका काँध

सपनाले भरिएका आँखा

अनि अँध्यारोले छोपेका क्षणहरू

यी सबै त मेरै कथा हुन्

आखिर त्यही बाटोकै कथा हुन्

जहाँबाट गन्तव्यको यात्रा म तय गर्दै छु ।

बाटोले भन्यो “म तिम्रो यात्राको सहयात्री हुँ ।”

फेरि गन्तव्य टाढा कतै मुस्कुराइरह्यो

तर बाटो

बाटोले साथ दियो

हरेक पाइला साथ दियो ।

कहिले उकालो, कहिले ओरालो

कहिले सीधा, कहिले घुमाउरो

तर हरेक मोडमा साथ दियो ।

जहाँ–जहाँ म पुग्दै गएँ

त्यहाँ म आफैँलाई भेट्दै गएँ ।

र अन्त्यमा बुझेँ

गन्तव्य त एउटा बहाना मात्र पो रहेछ

जीवन त बाटोमै लेखिँदो रहेछ

अनि बाटोमै सकिँदो रहेछ ।

साझा गर्नुहोस्:
राजेश स्पन्दन

लेखकको बारेमा

राजेश स्पन्दन

भक्तपुर, चाँगुनारायण ८ का स्थायी बासिन्दा कवि राजेश स्पन्दन हाल रोजगारीको सिलसिलामा युएईमा हुनुहुन्छ । वि.स. २०७३ देखि लेखनयात्रा शुरू गर्नुभएका स्पन्दनको पहिलो गजल साहित्यपोस्टमा २०७८ सालमा प्रकाशन भएको हो । उहाँको पहिलो कृति अब चाँडै बजारमा आउँदै छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.