साहित्यपोस्ट डट कम

कविता : वर्षौंपछिको भेट

कविता : वर्षौंपछिको भेट

आऊ, बस !

संयोगले धेरैपछि आज तिमीसँग भेट भएको छ

धेरैपछि आजै मलाई फुर्सद मिलेको छ।

यही मेसोमा पुरानो समयको सम्झना गरौँ

केही मनहरू साटौँ

केही नभए कसैको कुरानै काटौँ

आऊ, एकछिन बस !

कति होलान् कुराहरू गुम्सिएका मनभित्र

तिम्रा पनि, मेरा पनि ।

कति होलान् पाप्राहरू थुप्रिएका आफूभित्र

मेरा पनि, तिम्रा पनि ।

सबैलाई सबै कुरा सधैँभरि कहाँ सुनाउन सकिन्छ र ?

सबैलाई रुझेका आँखा सधैँभरि कहाँ देखाउन मिल्छ र ?

त्यसैले आऊ बस

आज केही आफ्ना कुराहरू फुकाऊ

र केही मेरा मनका कुराहरू बुझ ।

सम्झना छ तिमीलाई ?

हामी सँगै त हुन्थ्यौँ नि सधैँभरि त्यो पुरानो बेला !

याद छ तिमीलाई ?

हामी लडिबस्थ्यौँ नि दिनैभरि त्यो पुरानो बेला !

अहिले तिमीसँग सँगै बस्ने समय पनि छैन

र मसँग पनि लड्ने तागतहरू छैन ।

छोड यी दौडधुप केहीबेर

थन्काऊ यी कामहरू केहीबेर

आऊ, बस एकैछिन

बिसाऊ आफूलाई साथका चौतारीहरूमा ।

धेरै-धेरै कुराहरू गरौँला

गर्नलाई गफ कति विषयहरू छन्

बुझ्नलाई पीडा कति पीडाहरू छन् ।

आज

कति धेरै वर्षपछि संयोगले भेटिएका छौँ हामी

कति धेरै समयपछि संयोगले जोडिएका हौँ हामी ।

मैले पनि भागाभागमा छोडेको छु आफैँलाई तिमीले जस्तै

तिमीले पनि दौडादौडमा बिर्सेका छौ आफैँलाई मैले जस्तै।

आऊ, यतिका वर्ष हामी कता हरायौँ त्यो गफ गरौँ

आऊ, यतिका समयपछि हामी कसरी भेटियौँ यो चर्चा गरौँ ।

केही नभएको बालापनमा हामी कसरी पूर्ण थियौँ

त्यो सम्झेर अचम्म परौँ

सबै भएको वर्तमानमा हामी किन एक्लो भयौँ

यो नबुझेर दुःख मनाउ गरौँ ।

वर्षौंपछिको भेटले हामीमा अकर्मण्यता भरे

सँगै बसेर गफ गर्न केही सकस परे

आऊ, बसौँ मात्र एकछिन मौनतासँगै ।

थाहा छ नि तिमीलाई

सँगै बस्दैमा मात्र पनि कति हलुङ्गो हुन्छ मन

सँगै रहँदैमा मात्र पनि कति सहज हुन्छ तन ।

आफ्नो मान्छेसँगको सामीप्यता मात्र पनि कति विशेष हुन्छ

आफ्नो मान्छेसँगको मौनता मात्र पनि कति रोमाञ्चक हुन्छ ।

आऊ, एकछिन सँगै बसौँ

संयोगले यतिका वर्षपछि भेट भएको छ

फेरि अर्को संयोग जुर्ला नजुलार्ला !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.