डुँडेखेत–ढुङ्गिनबारी
मालीगाई–सिँगारी बाख्रो
खेताला–पर्म, ऐँचो–पैँचो
हलोजुवा–हरिस–जोतारो
ठेकी–मदानी
सोतर–भकारो
रोपार–बाउसे
कुइनेटाहरू गर्तमा थाती
अचेल सपनाहरू बरालिएका छन् ।
तह, तप्का र औकात हेरी
अर्जुनदृष्टि
एम्पायर स्टेट, ओपेरा हाउस
लन्डन आई, एफिल टावर
बुर्ज खलिफा, गगनचुम्बी भवनहरू…।
समुद्री तटमा
कार अगाडि
प्याट्रिकले लगाएको कालो चस्मा
पलपलमा सलबलाइरहने
सामाजिक सञ्जाल
चरा झैँ
निर्वाध र निर्बन्ध उड्न
फटफटाएका पखेटाहरू
आकाङ्क्षा–महत्त्वाकाङ्क्षा र बाध्यताले
घचेडिएका मनहरू
अचेल सपनाहरू बरालिएका छन् ।
म्यानपावर र बिचौलियासँग
उचित—अनुचित सम्झौता गर्दै
सिधा–बाङ्गो बाटो
जसरी, जे गरी भए पनि
नालायक हुनबाट बच्न
गरिखाने पैरवी
पौरख देखाउने हुटहुटी
‘फोर डी’ सँग
पौँठाजोरी गर्न तम्तयार
विरानो ठाउँ
भाषा–भेषभूषा र वातावरण
सपना र कर्तव्यहरूसँग
सौदाबाजी गर्दै
घरदेश छाडी
हजारौँ माइलको परदेश यात्रा
आफूलाई लिलाममा राखेर
सपना किन्न
बेहिसाब, वेगन्तव्य
भत्किएका र चिरा परेका
थिलोथिलो भारी मनहरू घिसार्दै
मल्हमको खोजीमा भौतारिएका
यत्रतत्र सर्वत्र—छरपष्ट
अचेल सपनाहरू बरालिएका छन् ।

