को के गर्छ भनी गरी छटपटी चर्चो चियो त्यो गरी
के भन्दैछ हँ त्यो भनी भुटभुटी ताती फलामै सरी ।
फँक्कैमा पसिना झिकी खलखली के घुम्नु खै फन्फन ?
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।
अर्काको भरमा हिँडे अबुझ भई चाटिन्छ माटो-धुलो
अर्काको गफमा बगे सलसली नासिन्छ आफ्नै कुलो ।
अर्काको मुखमा नहेर्नु ल घुरी फुत्किन्छ आफ्नो बन
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।
गर्दा डाह पराईको दिनदिनै चस्किन्छ छाती अति
हिँड्नै हुन्न कहीँ कतै लहडमा भइजान्छ आफ्नै खती।
थाल्नू काम बुझी बडो सहज भई खोलेर ती लोचन
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।
बोल्यौ प्याच्च भने विचार नगरी जाकिन्छ है खाडल
जानिएन बजाउनै यदि भने बज्ला र के मादल ?
आफ्नो काम तमाममा मन भए बोल्नू ल सोचीकन
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।
बस्यौ थ्याच्च भने विचार नगरी फँसिन्छ झाडीबिच
गर्दै सोच-विचारले अघि बढे भेटिन्छ जम्मै चिज ।
बढ्ला ओजन नि खुला हृदयले फैलाउँदा त्यो मन
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।
बन्दै मूर्ख नमात्तिनू अबुझझैँ संसार जित्ने भए
झुक्नू बाँससरी सधैँ लरिपरी उद्देश्य सिक्ने भए ।
मिल्नू नम्र हुँदै झुकी सहज नै बन्ने भए सज्जन
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।
हेप्नै हुन्न कदापि क्वै मनुजमा तुच्छ र फुच्च भनी
खानै हुन्न छली यसै फगतमा छुच्च र लुच्च बनी ।
लुकी खान्छु भने नियाल्दछ सबै त्यो देव घुर्दै जन
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।
राख्नू ख्याल गरी बडो जतनले माया-दया हातमा
गर्नू है सहयोग सत्बचनले सत्कर्मको साथमा ।
यी सत्कर्महरू फले यदि भने ब्रह्माण्ड जित्लान् जन
इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

