साहित्यपोस्ट डट कम

कविता : बाँधेर राख्नू मन

कविता : बाँधेर राख्नू मन

को के गर्छ भनी गरी छटपटी चर्चो चियो त्यो गरी

के भन्दैछ हँ त्यो भनी भुटभुटी ताती फलामै सरी ।

फँक्कैमा पसिना झिकी खलखली के घुम्नु खै फन्फन ?

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

अर्काको भरमा हिँडे अबुझ भई चाटिन्छ माटो-धुलो

अर्काको गफमा बगे सलसली नासिन्छ आफ्नै कुलो ।

अर्काको मुखमा नहेर्नु ल घुरी फुत्किन्छ आफ्नो बन

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

गर्दा डाह पराईको दिनदिनै चस्किन्छ छाती अति

हिँड्नै हुन्न कहीँ कतै लहडमा भइजान्छ आफ्नै खती।

थाल्नू काम बुझी बडो सहज भई खोलेर ती लोचन

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

बोल्यौ प्याच्च भने विचार नगरी जाकिन्छ है खाडल

जानिएन बजाउनै यदि भने बज्ला र के मादल ?

आफ्नो काम तमाममा मन भए बोल्नू ल सोचीकन

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

बस्यौ थ्याच्च भने विचार नगरी फँसिन्छ झाडीबिच

गर्दै सोच-विचारले अघि बढे भेटिन्छ जम्मै चिज ।

बढ्ला ओजन नि खुला हृदयले फैलाउँदा त्यो मन

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

बन्दै मूर्ख नमात्तिनू अबुझझैँ संसार जित्ने भए

झुक्नू बाँससरी सधैँ लरिपरी उद्देश्य सिक्ने भए ।

मिल्नू नम्र हुँदै झुकी सहज नै बन्ने भए सज्जन

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

हेप्नै हुन्न कदापि क्वै मनुजमा तुच्छ र फुच्च भनी

खानै हुन्न छली यसै फगतमा छुच्च र लुच्च बनी ।

लुकी खान्छु भने नियाल्दछ सबै त्यो देव घुर्दै जन

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

राख्नू ख्याल गरी बडो जतनले माया-दया हातमा

गर्नू है सहयोग सत्बचनले सत्कर्मको साथमा ।

यी सत्कर्महरू फले यदि भने ब्रह्माण्ड जित्लान् जन

इच्छा त्यो मनमा छ उन्नति भने बाँधेर राख्नू मन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.