साहित्यपोस्ट डट कम

कविता : बन्धन

कविता : बन्धन

विषम अवलम्बी, एउटै रगत, एउटै प्रणाली
सोचमा विभिन्नता छ कि हेर त नियाली ।
एउटै जगत् एउटै धर्ती बन्धन कहाँ छ ?
मानवतालाई जोड्ने बन्धन भन त कहाँ छ ?

अनेक बन्धन विषम धागो कसरी जोड्ने हो ?
कुन बन्धन उत्तम, मध्यम कुन चाहिँ निम्न हो ?
कुन गुरु रोज्नु कहाँ गुरु खोज्नु कसलाई सोध्ने हो ?
अटुट जन्जिर मानवता बाँध्न कहाँ पो खोज्ने हो ?

अनेक गुरु अनेक सोच संसार एउटै छ
जीवनदाता धर्तीमाता ममता एउटै छ ।
जननी माता प्रश्न सोध्छिन्– मानवता कहाँ छ ?
कुन गुरु होला ज्ञानको सागर जवाफ वहाँ छ ?

उँचो र नीच ती मेरा सन्तान कुदृष्टि कसको हो ?
तछाडमछाड सम्पूर्ण मेरै घमण्ड कसको हो ?
वायु र जल अन्न र फल आश्रय सबको
यति त बुझ हे मेरा सन्तान जगत् माया हो ।

 

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.