साहित्यपोस्ट डट कम

कविता : बालेनलाई चिठ्ठी

कविता : बालेनलाई चिठ्ठी

बालेन

मुरीमुरी माया र शुभकामना, प्रिय !

अहिले तिमी देश र जनताको शपथ लिएर ओर्लेका छौ

सिंहदरबारकाे भित्तामा झुन्ड्याउनु

केही थान हलो जोतिरहेका गरिब किसानका तस्बिर ।

अनि हेर्नु पुलुक्क

हरेक निर्णयको मोडमा सम्झनु

ती आँखा, जसले परिवर्तनको सपना देखेका छन् ।

हेर्नु तिनै तस्बिर अनि कोर्नु नक्सा

देश विकासको, प्रिय !

बालेन

तिमी यहाँसम्म आइपुग्नु कुनै सामान्य कुरा होइन

यो त महाविजयको पहिलो पाइला हो ।

जसरी पाण्डवले महाभारतमा कौरवलाई परास्त गरी

विजय प्राप्त गरेका थिए सत्यको

त्यस्तै यो त युगान्तकारी परिवर्तन हो, प्रिय !

त्यो प्राप्त गरी तिमी उभिएका छौ अहिले ।

बालेन

तिमीले बुझेकै होलाौँ भरोसाको अर्थ

तिमीलाई राम्ररी थाहा छ

यो पाला तिमीलाई जनताले भरोसा गरेका छन् ।

त्यसैले उनीहरूको आशामा तुषारापात हुन नदिनु, प्रिय !

भरोसा टुट्न नदिनु

आशा र भरोसा टुट्यो भने सपना मात्र होइन

मन टुट्छ ।

मन टुट्यो भने फेरि कुनै अर्को आशा रहँदैन, प्रिय !

बालेन

तिमीले जनताका सबै सपना पूरा गर्ने सङ्कल्प गर्दागर्दै

प्रयास गर्दागर्दै पनि

कुनै बेला बाटो अलमलियौ भने, प्रिय !

जनताका आवाजहरू धमिलो सुनिन थाले भने

अनि टक्क रोकिनु, प्रिय !

फेरि एकचोटि फर्केर हेर्नु

त्यहीँ भित्तामा झुन्डिएका तिनै गरिब किसानका तस्बिर ।

त्यहीँ भेट्नेछौ तिमीले मार्गनिर्देशन

त्यहीँ पाउनेछौ अगाडि बढ्ने शक्ति ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.