साहित्यपोस्ट डट कम

कविता : बक्राहा

कविता : बक्राहा

बक्राहा !

तिमी खोला होइनौ

तिमी कालको करुण कण्ठस्वर हौ

कर्मको कठोर कक्षा

कण–कणमा कम्पायमान कर्मयोगको काव्य ।

तिम्रो तटमा टेकिएका ती साना पाउहरू

हिलोले होइन, इतिहासले रङ्गिएका छन्।

तिम्रो जलमा झिलिमिली झुल्किन्छ

भोकका भुराभुरा भविष्यहरू

कागजजस्ता काँचा, तर चट्टानजस्ता चुनौतीपूर्ण ।

भित्रभित्र बल्ने बेमौसमी बम

पेटको प्रार्थनामा पल्टिने पीडाको पङ्ख ।

सपना

सिरानीमुनि सुस्केरा साँचेर सुतेको सूर्य

सिस्नुजस्तो सानो, तर सगरमाथाजस्तो साहसी ।

कस्तो करुण विडम्बना !

खोलाले कापी बगाउँछ

तर अक्षरको आत्मा अडिग रहन्छ ।

छाना चुँडिन्छ, चरित्र चुँडिँदैन ।

तिमी त बग्छौ बक्राहा

तर बालमनको बहादुरी बाँकी रहन्छ ।

तिमी हाँस्छौ हरहर, हाहाकार र हिलोसँग हर्षित।

“म विध्वंस हुँ,” तिमी भन्छौ

“तर म नै विधाता पनि हुँ ।”

तिम्रो छालमा छिपेको छ

सृष्टि र संहारको साँघुरो सन्तुलन।

निलो आकाशमा नक्कली नक्षत्र, झिलिमिली जुन

जसले उज्यालो होइन, उधारो उज्यालो उछाल्छन् ।

किसान पसिनाको पवित्र पानीले माटोलाई मन्त्र बनाउँछ

उसको हात आशाको आँच हो ।

भोक र सपना दुई डाँडाजस्ता दूर

बीचमा बहने विश्वासको बहार।

एकले शरीर चिस्याउँछ, अर्कोले आत्मा चुम्छ

एकले रात लम्ब्याउँछ, अर्कोले बिहान बोलाउँछ ।

बक्राहा !

तिमी क्रूर गुरु, करुण कवि, कठोर कर्मको कथावाचक।

तिम्रो गर्जन गीता हो

“डुब्नु दोष होइन, डुबेर नउठ्नु दोष हो ।”

छालहरू शिशिरका श्लोकझैँ शिरशिर सर्छन्

साहसका सूरजहरू

सिरानीमा सुतेका साना सैनिकझैँ सपनामा सल्बलाउँछन् ।

र, हिलोमाथि उभिएको त्यो नानी हाँस्छ ।

त्यो हाँसो हावाभन्दा हलुका, इतिहासभन्दा भारी

बाढीभन्दा बलियो, समयभन्दा सशक्त ।

त्यो हाँसो नै हो अमर आत्माको अदृश्य आरती

जहाँ भोक भजन बन्छ, पीडा प्रकाश बन्छ

र बक्राहा जीवनको अनन्त ब्रह्मगीत ।

साझा गर्नुहोस्:
तोमनाथ उप्रेती

लेखकको बारेमा

तोमनाथ उप्रेती

सयौं फुटकर रचना रच्नु भएका तोमनाथ उप्रेतीका आधा दर्जनभन्दा बढी लघुउपन्यास प्रकाशोन्मुख छन् । उहाँ नेपाल सरकारका उपसचिवसमेत हुनुहुन्छ । उहाँको एक लघुउपन्यास साहित्यपोस्टबाट प्रकाशित हुँदैछ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.