साहित्यपोस्ट डट कम

कविता : बहस

कविता : बहस

एउटा उक्लँदै थियो उकालो,

अर्को ओर्लँदै थियो ओरालो ।

जम्काभेट भो देउरालीमा

एउटा भन्थ्यो, “उफ! कस्तो उकालो !”

अर्को भन्थ्यो, “होइन, कस्तो ओरालो !”

उक्लनेले पसिना पुछ्दै भन्यो

“होइन, यो बाटो उकाली नै हो ।”

ओर्लनेले खुट्टा दुखेको देखाउँदै भन्यो

“होइन, यो बाटो ओरालो नै हो ।”

बस

यहीँबाट सुरु भयो भिन्नता

त्यहीँबाट सुरु भयो मतभेद

बस, सुरु भयो बहस ।

जमात बढ्दै गयो,

हुल बढ्दै गयो ।

माथिका सबैले एक स्वरमा भने

“यो बाटो ओराली नै हो ।”

तलकाले अझ ठुलो स्वरमा भने

“यो बाटो उकाली नै हो ।”

दुवैका प्रमाण अकाट्य थिए

बहसका निर्णयकर्ता कोही थिएनन् ।

बहस लम्बिँदै गयो

जो आजसम्म निरन्तर चलिरहेछ ।

जबसम्म अरुको भावनाको सम्मान हुँदैन

तबसम्म यो बहस अनन्तसम्म चलिरहनेछ !!!

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.