मिर्मिरे बिहानपखको कुहिरो फाट्दा
माटो र बालुवाको गन्धसँगै
ब्युँझिएको हुन्छ मानिसहरूको सपना
हलो–कोदालो बोकेर किनारमा
कि त डुङ्गा लिएर जाल मार्दै पानीमा ।
हातेमालो गर्छ जीवनसँग
आफ्नो फराकिलो छातीमा अँगालेर
यो नदी होइन
सभ्यताको शिरा–उपशिरामा बगिरहेको
मृत्युहीन श्वास–प्रश्वास !
ब्रह्मपुत्र
होइन पानीको प्रवाह मात्र
मानिसको अविरल जीवनधारा
समयको गहिरो स्मृति
पुराना गाउँहरूको कथा
र खेतका पसिनाले लेखिएको
जीवनको मौन महाकाव्य ।
ब्रह्मपुत्रको किनारमा बस्नेहरूको
कति भत्किन्छ आशा र आकाङ्क्षा
तर उनीहरूलाई थाहा छ
नदीले जसरी भत्काउँछ घर
माटोले फेरि जन्माउँछ त्यसरी नै ।
किनारका गाउँहरू
उसको लहरमा आफ्नै अनुहार हेर्छन्
किसानको शरीरको पसिना
उसको पानीसँग मिसिएर
लेख्छ माटोमाथि हरियो भविष्य ।
यसका बगरभरि देखिएका
सुख र दुःखका पाइलाहरू
मात्र लहर हुन् नदीले छोडी गएका
उनीहरूले भोगेको जीवनको
स्वच्छ प्रतिबिम्ब
बारम्बार समात्न खोजेर पनि
अटाउँदैनन् हत्केलाबाट फुत्केर ।
ब्रह्मपुत्र
फगत नदी होइन
यो त समय, सङ्घर्ष र भरोसाको
एउटा अन्तहीन कविता ।
त्यसैले
नदीमा कुदेका अनगन्ती लहरसितै
बगिरहेको आफ्नो सानो जीवनलाई बिताउन
व्यस्त भइरहन्छन् असङ्ख्य जनता
जो आस्था र विश्वास मिसाएर
अदृश्य पुल बनाइरहेका हुन्छन् ।
दिनरात बगिरहेको छ ब्रह्मपुत्र
आँखामा ।

