म नदी हुँ
मेरो कथा पानीको मात्र होइन
असंख्य बिछोड, पीडा
र अधुरा सपनाहरूको कथा हो ।
म बगिरहेँ
आफ्ना टुक्रिएका प्रतिबिम्बहरू बोकेर ।
कतै कसैले मेरो स्वच्छता मन परायो
कतै कसैले मलाई धमिलो बनायो ।
तर मैले कहिल्यै सोधिनँ
"किन ?"
किनकि जीवनले पनि
उत्तरभन्दा बढी प्रश्न दिन्छ ।
सायद
सङ्घर्ष भनेको यही हो
टुट्दै जानु
तर पूर्ण रूपमा नटुट्नु ।
सक्दै जानु
तर आशाको एउटा थोपा बचाइराख्नु ।
हिमालको हिउँ र मानिसको सपना
उस्तै रहेछन्
बाहिरबाट बलिया देखिने
भित्रभित्रै चुपचाप पग्लिने ।
मानिसहरू भन्छन्
नदी समुद्रसम्म पुग्न जन्मिन्छे ।
तर म जान्दछु
कहिलेकाहीँ
गन्तव्यभन्दा ठूलो कुरा
बाटोमा हराएका मानिसहरू हुन्छन् ।
र म सोचिरहन्छु
के पृथ्वीले पनि
आफ्नी कुनै "रश्मि" गुमाएकी हो ?
त्यसैले त
उनी यति मौन छिन्
यति तातिएकी छिन्
यति बेचैन छिन् ।
रातको गहिरो अँध्यारोमा
जब चन्द्रमा मेरो सतहमा टुक्रिन्छ
म आफ्नै प्रतिबिम्ब हेर्छु ।
त्यहाँ नदी देखिँदैन
त्यहाँ एउटा मानिस देखिन्छ
सङ्घर्षले थाकेको
समयले कोरेको
तर अझै आशा नछोडेको ।
किनकि
नदीको अर्थ समुद्र होइन
नदीको अर्थ बगिरहनु हो ।
त्यसैले
हिमाल पग्लिए पनि
किनारा भत्किए पनि
समय निर्दयी भए पनि
म बगिरहनेछु ।
सायद एक दिन
यो संसारले फेरि हरियाली पाउनेछ
नदीहरूले फेरि गीत गाउनेछन्
र तिम्रो नामजस्तै
एउटा सानो रश्मि
अँध्यारो पृथ्वीमाथि फेरि उदाउनेछ ।
फ्र्याङ्कफर्टको साँझमा
माइन नदी शान्त बगिरहेकी छ
तर मेरो भित्र
अर्को नदी उर्लिरहेकी छ
जसको किनारामा रश्मिका पदचिह्न छन् ।
आल्प्सका हिउँ पग्लँदा
आफ्नै गाउँ सम्झना आउँछ ।
पृथ्वी जहाँसुकै ताते पनि
पीडाको तापक्रम उस्तै रहेछ ।
म आफैँलाई बोलाउँछु
तर आवाज कहिले नेपालबाट आउँछ
कहिले जर्मनीको हावाबाट ।
फ्र्याङ्कफर्टको गर्मीले
आकाशलाई पनि पसिना निकालिरहेको छ
र मलाई पहिलोपटक लाग्छ
युरोप पनि अब चिसो छैन ।
नेपाल छोडेर आउँदा
मैले सोचेकी थिएँ
दूरीले सम्झनाहरूलाई कम गर्छ ।
तर सम्झनाहरू त झन् नजिकिँदा रहेछन्
विशेषगरी रातमा
जब सहरको उज्यालो पनि
अपरिचित लाग्छ ।
आमाको हात सम्झिन्छु
जसले गर्मीमा पनि
चिसोपानीजस्तो सान्त्वना दिन्थ्यो ।
बाबाको मौनता सम्झिन्छु
जसले कहिल्यै धेरै बोलेन
तर घरलाई पहाडजस्तै अड्याइराख्यो ।
र म
रश्मि भएर पनि
अब म आफैँलाई चिन्दिनँ ।
किनकि यहाँ मेरो नाम बोलिँदा पनि
उच्चारण फरक सुनिन्छ
मानौँ म आफैँ विदेशी भइसकेकी छु ।
सडकहरू सफा छन्
रेलहरू समयमै आउँछन्
तर भित्र केही हराइरहेको छ
सायद म आफैँ ।
गर्मी बढ्दैछ यहाँ पनि
मानौँ पृथ्वीले
सबै ठाउँमा एउटै सास फेर्न थालेकी छिन् ।
र म सोध्छु
यदि पृथ्वी पनि घर हो भने
किन उसको मुटु यति तातिँदैछ ?
कहिलेकाहीँ लाग्छ
म माइग्रेन्ट होइन
म एक नदी हुँ
नेपालबाट छुटेर आएको
तर अझै त्यही हिमालको पानी बोकेको ।
तर मेरो भित्रको नदीले
अझै पनि घरको बाटो चिन्नेछ ।
बग्नु भनेको
टाढा हुँदा पनि
आफ्नो स्रोत बोकिरहनु हो ।
फ्र्याङ्कफर्टको गर्मीले
ढुङ्गासमेत थाकेको छ
र माइन नदी शान्त बगिरहे पनि
मेरो भित्र
अर्कै नदी फुटिरहेकोछ ।
त्यो नदीमा
बाल्यकालको धूलो छ
आमाको हातको चिसोपन छ
र बुबाको मौन पहाड छ
जसले कहिल्यै ढलेन
तर म भने टाढा भइसकेँ ।
मलाई लाग्थ्यो
दूरीले सम्झनालाई कमजोर बनाउँछ ।
तर सम्झना त
गर्मीमा अझै बलियो भएर उम्रिँदोरहेछ
ठ्याक्कै यो सहरको तापजस्तै ।
यहाँ आकाश पनि भारी छ
मानौँ बादलहरू
आफ्नै दिशामा अल्मलिएका छन् ।
र म
रश्मि भएर पनि
आफ्नै नामसँग अपरिचित छु ।
उच्चारण बदलिन्छ
पहिचान सानो हुन्छ
र मौनता ठूलो ।
सडक सफा छन्
रेलहरू समयमै चल्छन्
तर भित्र केही हराइरहेको छ
सायद म आफैँ ।
युरोप अब चिसो छैन
जसरी घर टाढा भएपछि
सम्झना पनि शान्त रहँदैन ।
माइन नदीछेउ उभिँदा
पानीले मलाई सोधेजस्तो लाग्छ
“तिमी कहाँकी हौ?”
म उत्तर दिन सक्दिनँ ।
किनकि म एउटै ठाउँकी छैनँ अब ।
म नेपालबाट आएको शरीर हुँ
तर जर्मनीमा बगिरहेको समय ।
यदि म नदी हुँ भने
मेरो स्रोत अझै पनि
हिमालमै रोइरहेको छ ।
आज फेरि आफ्नै नामले बोलाउँछु
तर उत्तर कहिले भक्तपुरबाट आउँछ
कहिले डुसेलडोर्फको चिसो हावाबाट ।
भक्तपुरका साँघुरा गल्लीहरू सम्झिन्छु
ढुङ्गामा टाँसिएको समय
आँगनमा सुकिरहेको घाम
र बुबाको छाया
जो अब शरीरमा छैन ।
एक वर्ष भयो
उहाँको मौनता अझै घरमै बसिरहेछ
ढोका खोल्दा पनि नबोल्ने गरी ।
गर्मी बढ्छ यहाँ पनि
तर त्यो गर्मी
घरको जस्तो होइन
त्यो सम्झनाको होइन
अपरिचितताको ताप हो ।
कहिलेकाहीँ ट्रेनमा बस्दा
मलाई लाग्छ
म गन्तव्यमा होइन
बीचको दूरीमा बसेकी छु ।
अब कहाँ जाने ?
आमा छिन्
तर उनको आवाज टाढाबाट आउँछ ।
बुबा छैनन्
तर उहाँको मौनता अझै सँगै हिँड्छ ।
मलाई थाहा छ
दुःख ठूलो कुरा होइन
तर बाँच्नुपर्ने तरिका हो ।
म कहिल्यै पूर्ण हुन खोजिनँ
म केवल टिकिरहन खोजिरहेँ ।
म त्यो नदी हुँ
जसले बाटो बदल्छ
तर बग्न छोड्दैन ।
म त्यो छोरी हुँ
जसको बुबा अब छैनन्
तर उहाँको सपना अझै बाँकी छ ।
किनकि बाँच्नु भनेको
सधैँ खुसी हुनु होइनरहेछ
बाँच्नु भनेको
टुटेर पनि
आफ्नो नाम नछोड्नु हो ।
भक्तपुरका चोकहरू सम्झिन्छु
जात्राका ढोलहरू
साँझको बत्ती
र भीडभित्र हराएको घरको सुगन्ध ।
तर हराउँदा पनि आफ्नै हुन्थेँ ।
अब त्यहाँ पर्वहरू आउँछन् रे
तर म छैनँ ।
दसैँ, इन्द्रजात्रा, तिहार—
यी नामहरू अब समाचारजस्तै लाग्छन्
घरजस्तो होइन ।
मलाई सबैभन्दा बढी सम्झना आउँछ
हाकुपटासीको कपडा
र कुर्ता लगाएर ऐनामा हेर्दा
आफूलाई पूरा महसुस गर्ने त्यो क्षण ।
यहाँ कपडा धेरै छन्
तर पहिचानजस्तो केही छैन ।
गर्मी बढ्छ यहाँ पनि
तर त्यो गर्मीले
आमाको पसिना सम्झाउँदैन
न त बुबाको मौन छाया ।
एक वर्ष भयो
उहाँ गइहाल्नुभएको
तर घर अझै रोकिएको छ त्यही दिनमा ।
म यहाँ छु ।
ट्रेनहरू चल्छन्
मानिसहरू हिँडिरहन्छन्
तर मेरो भित्रको समय
भक्तपुरमै अड्किएको छ ।
जहाँ म हाँस्नुपर्ने थियो
त्यहाँ मौनता बस्छ
जहाँ म नाच्नुपर्ने थियो
त्यहाँ सम्झना मात्र बाँच्छ ।
म त्यो छोरी हुँ
जसले अब हाकुपटासी लगाउँदिनँ
तर सम्झनामा त्यसको तौल अझै बोक्छे ।
र म त्यो नदी हुँ
जसले बाटो बदल्छ
तर स्रोत कहिल्यै भुल्दैन ।
भक्तपुर टाढा भए पनि
त्यो मेरो शरीरभित्रै चलिरहेको छ
डुसेलडोर्फ नजिक भए पनि
त्यो अझै अपरिचित लाग्छ
र यी दुईबीचको खाली ठाउँमा नै
म बाँचिरहेकी छु ।
किनकि
बाँच्नु भनेको
खुसी हुनु होइन
बाँच्नु भनेको
टाढा हुँदा पनि
घरको कपडा सम्झिनु हो
र त्यो सम्झनालाई नै
आफ्नो पहिचान बनाउनु हो ।


