बा ! यदि म मरे भने
झण्डा नफहराउनु मेरो नाममा ।
बा !
म देशको नक्साभित्र छैन आज
तर मेरो पसिना
अझै देशकै खातामा जम्मा भइरहेको छ ।
म परदेशको आकाशमुनि
घामसँग युद्ध गरिरहेछु
ताकि गाउँको त्यो पुरानो घरको
छाना फेरियोस्
ताकि आमाको निधारका चिन्ता
केही कम होऊन् ।
तर बा !
अझै पनि आमा
घाँसको भारीसँगै
आफ्नो उमेर बोकिरहेकी छिन् ।
अझै पनि उनका पाइला
भिरका बाटोमा चिप्लिन्छन्
अझै पनि उनको उपचारभन्दा
नेताको भाषण महँगो छ ।
बा !
यदि कुनै दिन
आमा अस्पतालको ढोकाबाट
पैसा नपुगेर फर्किनुपर्यो भने
देशको नक्सामा
अर्को रातो धब्बा थपिएको सम्झिनु ।
यदि कुनै दिन
म परदेशको कोठाभित्र
एक्लै ढलेँ भने
मेरो मृत्युको खबरभन्दा पहिले
मेरो बैंक खाताको कुरा आउला ।
किनकि यहाँ
मान्छेभन्दा ठूलो
उसले पठाएको पैसा हुन्छ ।
बा !
म देश छोडेको होइन
देशले नै मलाई
विदेशको बाटो देखाएको हो ।
म फर्किन चाहन्थेँ
हलोसँग
कोदालोसँग
आफ्नै माटोसँग ।
तर यहाँ त
खेत बाँझो छ
युवा रित्तो छ
र भाषणहरू मात्रै हरिया छन् ।
बा !
यदि कसैले सोध्यो भने
“तिम्रो छोरो के गर्छ ?”
भन्नु
“देशलाई जिउँदो राख्न
आफ्नो जिन्दगी किस्ताबन्दीमा बेचिरहेको छ ।”
अनि बा !
मेरो नाममा
कुनै शालिक नबनाउनु
कुनै श्रद्धाञ्जलि नदिनु ।
यदि कहिल्यै
मेरो फोटोमा माला झुण्डिएको देख्यौ भने
नरुनु है धेरै ।
किनकि म त
देशका लाखौँ छोरामध्ये
एउटा सङ्ख्या मात्रै हुनेछु ।
तर बा !
मेरो नाममा आएको
श्रद्धाञ्जलीको भाषण सुन्दै गर्दा
एउटा प्रश्न भने सोध्नु
“जिउँदै हुँदा
मेरो छोरोलाई देशले के दिएको थियो ?”
यदि उत्तर भेटेनौ भने
मेरो फोटोअगाडि
दियो नबाल्नु
बरु त्यो उज्यालो लिएर
आमाको अनुहार हेर्नु ।
त्यहाँ तिमीले देख्नेछौ
एउटी आमा
जसले देशलाई
एउटा जवान छोरो दिई
तर बुढेसकालमा
सहारा भने पाइनन् ।
र बा !
यदि कहिल्यै
मेरो अस्थि गण्डकीमा बगायौ भने
पानीसँगै यो कुरा पनि बगाइदिनु
मैले कुनै एउटा छोरो जन्माएको थिएँ
जुन छोरो देशलाई माया गर्दागर्दै
प्राण जाने बेला आफ्नै तुलसी
मोठको एक थोपा पानी पिउन पाएन !
बा !
म फर्किएँ भने छोरो भएर फर्किन्छु
फर्किन सकिनँ भने रेमिट्यान्सको तथ्याङ्क भएर फर्किनेछु
अनि देशले फेरि पनि भन्छ
‘अर्थतन्त्र बलियो छ ।’

