बा,
त बूढो भइसकेका थिए
लठ्ठी समाएर
खुम्चिँदै, लच्किँदै
शान्तसँग सन्न्यास लिनुपर्ने उमेर थियो ।
तर बा त बा नै थिए
एकपटक सिंहझैँ गर्जिए
मानौँ अझै केही बेर
समयलाई नै निल्छन् कि जस्तो गरेर ।
त्यो गर्जन
सत्ताको लोभको थिएन
त्यो गर्जन
अहङ्कारको पनि थिएन
त्यो त
अन्तिम पाठ थियो ।
विचरा बा
सन्न्यास लिन उनलाई
कुनै आपत्ति थिएन ।
मन त धेरै अघि नै
थाकिसकेको थियो ।
तर बा त बा नै हुन्
उनी जान्दथे
आज तिमी दाइ हौ
भोलि तिमीलाई पनि
कसैले ‘बा’ भनेर बोलाउनेछ ।
त्यसैले बा ले
केवल सन्न्यास लिन खोजेनन्
बा ले
सन्न्यास लिनुअघि
एउटा विधि सिकाउन खोजे ।
बा बन्नु भनेको
उमेर बढ्नु मात्र होइन
आडम्बरको बीच
सत्यलाई जोगाएर उभिन सक्नु हो
भन्ने कुरा
तिमीले बुझ्नु थियो ।
हिजो बा ले
तिमीलाई कटाक्ष गरे
त्यो अपमानका लागि थिएन
त्यो त
एउटा स्मरण थियो ।
किनकि
जब बा दाइ थिए
त्यो बेला
उनलाई पनि
यस्तै कटाक्षहरू
अरूबाट सुन्नु परेको थियो ।
त्यसैले त बा ले
सन्न्यास सजिलै लिएनन् ।
मन थियो
थकान पनि थियो
तर एउटा जिम्मेवारी बाँकी थियो
तिमी भोलि
बा बन्दा
कसरी उभिने
त्यो विधि
सिकाउनु थियो ।
बा सजग थिए
तर आलोचनाको डर
कहिल्यै थिएन
किनकि
जब उनी दाइ थिए
त्यो समयका बा ले
ठ्याक्कै यही गरेका थिए
कटाक्ष, आलोचना, व्यङ्ग्य
सबै सहेर
अगाडि बढेका थिए ।
त्यसैले बा
तिम्रा शत्रु होइनन्
तिम्रा शुभेच्छुक हुन् ।
उनी चाहन्थे
तिमीले बुझ्नुपर्छ
आडम्बरको ताण्डव
र वारम्बारको बन्धक
कसरी सहेर
अडिग उभिन सकिन्छ
त्यही सिकाउन
बा एकपटक गर्जिए ।
जब दुनियाँले बुझ्यो
जब समयले
आफ्नो उत्तर दियो
त्यसपछि मात्र
बा ले
शान्त भएर
सन्न्यास लिए ।

