साहित्यपोस्ट डट कम

कविता: बीपी अझै सोधिरहनु भएको छ

कविता: बीपी अझै सोधिरहनु भएको छ

“सङ्घर्ष नगरी अधिकार पाइँदैन”

बीपीले भनेका थिए ।

आज त्यो वाक्य काङ्ग्रेसको भित्तामा होइन

हाम्रो मेरुदण्डमा टाँसिनुपर्ने छ।

“लोकतन्त्र कसैको दया होइन”

उहाँको चेतावनी थियो।

तर आज दरबार त ढल्यो

दरबारी सोच पार्टीभित्रै पलायो

अब तिमीले लड्नु छ ।

“सम्झौता तबसम्म मात्र ठीक हुन्छ जबसम्म सिद्धान्त जिउँदो हुन्छ”

बीपीको आत्मा भन्थ्यो ।

आज सिद्धान्त मरेको छ

तर सम्झौताहरूले देश जल्दै छ

अब तिमीले निभाउनु छ।

उहाँले स्पष्ट भन्नुहुन्थ्यो

“निर्णायक सङ्घर्ष कहिल्यै टार्न सकिँदैन ।”

आज त्यो निर्णायक घडी ढोका ढकढक्याइरहेको मात्र छैन

छाती फोडेर भित्र पस्न खोजिरहेको छ

तिमी फलाम बनेर उभिनु छ ।

विशेष महाधिवेशन केवल एजेन्डा होइन

यो त बीपीको विचारको पुनर्जन्म हो ।

अब चुप लाग्नु तटस्थता होइन

विश्वासघात हो ।

अब ढिलाइ गर्नु रणनीति होइन

कायरता हो ।

बीपी मुस्कुराउँदै हुनुहुन्छ

हामी उहाँको उद्धरण केवल पढ्छौँ कि

अक्षरशः पालना गर्छौँ भनेर !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.