“सङ्घर्ष नगरी अधिकार पाइँदैन”
बीपीले भनेका थिए ।
आज त्यो वाक्य काङ्ग्रेसको भित्तामा होइन
हाम्रो मेरुदण्डमा टाँसिनुपर्ने छ।
“लोकतन्त्र कसैको दया होइन”
उहाँको चेतावनी थियो।
तर आज दरबार त ढल्यो
दरबारी सोच पार्टीभित्रै पलायो
अब तिमीले लड्नु छ ।
“सम्झौता तबसम्म मात्र ठीक हुन्छ जबसम्म सिद्धान्त जिउँदो हुन्छ”
बीपीको आत्मा भन्थ्यो ।
आज सिद्धान्त मरेको छ
तर सम्झौताहरूले देश जल्दै छ
अब तिमीले निभाउनु छ।
उहाँले स्पष्ट भन्नुहुन्थ्यो
“निर्णायक सङ्घर्ष कहिल्यै टार्न सकिँदैन ।”
आज त्यो निर्णायक घडी ढोका ढकढक्याइरहेको मात्र छैन
छाती फोडेर भित्र पस्न खोजिरहेको छ
तिमी फलाम बनेर उभिनु छ ।
विशेष महाधिवेशन केवल एजेन्डा होइन
यो त बीपीको विचारको पुनर्जन्म हो ।
अब चुप लाग्नु तटस्थता होइन
विश्वासघात हो ।
अब ढिलाइ गर्नु रणनीति होइन
कायरता हो ।
बीपी मुस्कुराउँदै हुनुहुन्छ
हामी उहाँको उद्धरण केवल पढ्छौँ कि
अक्षरशः पालना गर्छौँ भनेर !

