साहित्यपोस्ट डट कम

कविता : आवरणभित्रको अवसरवाद

कविता : आवरणभित्रको अवसरवाद

मथिङ्गलमा सधैँ कपटै कपट, भ्रष्ट मति र कलङ्कको ताज छ

सामाजिक उत्पीडनका पीडक— अग्रपङ्क्तिमा सधैँ उसको राज छ ।

सत्तामा पुग्दा लुटतन्त्र मच्चाउँछन्, बाहिर बस्दा सपना बाँड्छन्

वामपन्थको बर्को ओढ्छन्; यती–ओम्नीसँग सिद्धान्त साट्छन् ।

मिठा–मिठा सपना बाँड्छन्, दिग्भ्रमित बनाई सबैलाई ढाँट्छन्

निकृष्ट स्वार्थ पूरा गर्नु परे— मण्डलेका हात–खुट्टा पनि माड्छन् ।

वामपन्थको वकालत गर्छन्, झ्वामपन्थलाई अङ्कमाल गर्छन्

भ्रष्टाचार र कमिसनको लागि, बिचौलियासँग सँगसँगै चर्छन् ।

भ्रष्टाचार, नातावाद र कृपावाद विरोधी भनी सबैतिर ढाँट्छन्

साला, भाइ–भतिजा, ज्वाइँ खोजी, आफन्तलाई सत्ता बाँड्छन् ।

तिनको चरित्र र सिद्धान्तबीच मेलमिलाप कहिल्यै भेटिन्न

तिनको सामन्ती र सर्वसत्तावादी चरित्र, जता गए पनि मेटिन्न ।

आफ्नो निकृष्ट स्वार्थ पूरा गर्न, जस्तोसुकै साँठगाँठ गर्छन्

देशको ढुकुटी रित्याएर, कहिल्यै नअघाउने घ्याम्पे पेट भर्छन् ।

अवसरवादको चरम सीमा नाघ्दै, ‘कमाउनिस्ट’ मन्त्र मान्छन्

त्यसै झ्वाम पार्न नसके ‘नीति’ बदलेरै भए पनि, पुर्याएरै खान्छन् ।

‘कम्युनिस्ट’ नामको कम्बल ओढी, सामन्तीको पोषण गर्छन्

गरिब, उत्पीडित र मजदुरहरूको सकेसम्म नै शोषण गर्छन् ।

तर पनि सिद्धान्त र विचारधारा कम्युनिस्ट पार्टीकै खोज्छन्

बलबुतोले विदेशिन पाए— अस्ट्रेलिया, युरोप र अमेरिका रोज्छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.