साहित्यपोस्ट डट कम

कविता : आस्था र भूगोल

कविता : आस्था र भूगोल

मुस्लोमा जलाउँदैमा कहाँ जल्छ र ?

आस्था र विचार त रक्तबीज बनेर छितरिन्छ

क्रान्तिको झिल्को भएर फैलिन सक्छ

कमजोर कत्ति नठान्नु आस्थालाई ।

बाँकी छ अझै आस्थाको धरोहर

जल्दैमा केही थान सपनाहरू सकिएको छैन भूगोल ।

ढुङ्गा र माटोको थुप्रो मात्रै होइन देश

कागजमा कोरिएको नक्सा मात्र पनि होइन

देशबासीका छातीभित्र टाँसिएको हुन्छ देश

भुइँमान्छेका मुटुका कुनामा गाँसिएको हुन्छ ।

सजिलो छैन सकाउन यो भूगोल

कसले सक्छ सहजै भत्काउन यो संस्कृति ?

साम्राज्यवादीले फिँजाएका बेतुकका होहल्लाले

कहाँ टुङ्गिन्छ र आस्थाको यात्रा ?

कहाँ रोकिन्छ र विचारको लडाइँ ?

आस्था र विचार त अघि बढिरहन्छ आफ्नै गतिमा ।

सधैँ सल्बलाइरहन्छन् निर्देशितहरू

देशी, विदेशी निमेकी खेतालाहरू

बदली रहन्छन् आफ्ना छेपारे रङ्गहरू ।

जलाउँदैमा कसरी जल्छन् र आममान्छेका सपनाहरू ?

सपनाहरू त छायाँ बनेर पछ्याइरहन्छन्

अतीतका घाउ बनेर झस्काइरहन्छन्

बिम्ब बनेर उदाइरहन्छन्।

सुशासनका चाहनाले निध्रुक्क भिजेका मनहरू

आक्रामक बनेर उर्लिएका अराजक तनहरू

अग्निज्वाला बनेर दन्दनी दन्किन सक्छन्

छिनभरमै संरचना डढेर खरानी बन्न सक्छन्

तर विचार कहाँ मर्छ र त्यसरी सजिलै ?

राष्ट्रियताका मजबुत खम्बाहरू ढलाउन

स्वाभिमानका सतिसालहरू गलाउन

त्यति सजिलो कहाँ हुन्छ र ?

निस्तेज पार्न कदापि सक्ने छैनौँ आस्थालाई

कसरी सक्छौ र जलाउन विचार ?

आस्था र विचार त तुवालो बनेरै फैलिन सक्छ ।

कहाँ सजिलो छ र ढलाउन आस्था ?

कहाँ सजिलो हुन्छ र जलाउन भूगोल ?

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.