साहित्यपोस्ट डट कम

कविता : आशाका सुनौला झ्यालहरू…….!!

कविता : आशाका सुनौला झ्यालहरू…….!!

हेर त

रातको सबैभन्दा कालो घडीमा पनि

पूर्वतिर कतै

घामले आफ्नो सुनौलो जुत्ता लगाइरहेको छ ।

फेरि

यो बेवारिसे मन न हो

कहिलेकाहीँ

बाढीले भत्काएको पुलजस्तै हुन्छ

आवागमन बन्द

एकैछिनमा

आशाका गाडीहरू रोकिन्छन् ।

हेर

नदी

आफ्नै किनारा सम्झेर

छचल्किँदै

शान्ति गीत गाउँदै हिँडिरहेको छ !

कतै

यस्तो लाग्छ

दुःख भनेको

छातीभित्र उम्रिएको काँडेतार हो

जहाँ सम्झनाहरू

रगतका थोपा बोकेर चुहिन्छन् ।

हेर

क्याक्टसले पनि

मरुभूमिमा फूल फुलाइरहेको छ ।

आफैँले आफ्नै

आत्मालाई मार्नु पनि पाप हो

पानीसित हारेर

आफ्नै घरमा आगो लाउनु हो

जबकि जिउँदो आत्मा

धुवाँबाट निस्केर पनि

आकाश खोजिरहने एउटा सुन्दर आत्मीय चरा हो

बाँच्न देऊ ।

तिमीले त्यो चराको गला निमोठ्यौ

बचेरा रुन्छन्

यसरी कि

आँसु नै अन्तिम समुद्र बन्दै

हरेक आँसुका थोपाभित्र

जहाँ

इन्द्रेणीको एउटा सुन्दर रङ्ग हराएर जान्छ ।

हेर त त्यता पनि

तिम्रो छेवैमा

एउटा टुटेको ऐना

घाम पर्दा चम्कन्छ

सुकेको रूखमा पनि

वैशाखले हरियो सपना देख्छ

अनि किन

एक क्षणको अन्धकारलाई

पूरै ब्रह्माण्ड ठान्छौ !

हेर त

यो जीवन

आमाको निधारको जून हो

बुवाको थाकेको हातभित्रको भरोसा हो

सन्तानको आँखामा तैरिरहेको भोलि हो ।

त्यसैले

आऊ

मृत्युका काला ढोकाहरूमा होइन

आशाका सुनौला झ्यालहरूमा ढकढक्याऊ

यो

अनमोल जीवनमा

आत्मदाहको दाग

कुरूप छाया

किन पार्छौ ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.