हेर त
रातको सबैभन्दा कालो घडीमा पनि
पूर्वतिर कतै
घामले आफ्नो सुनौलो जुत्ता लगाइरहेको छ ।
फेरि
यो बेवारिसे मन न हो
कहिलेकाहीँ
बाढीले भत्काएको पुलजस्तै हुन्छ
आवागमन बन्द
एकैछिनमा
आशाका गाडीहरू रोकिन्छन् ।
हेर
नदी
आफ्नै किनारा सम्झेर
छचल्किँदै
शान्ति गीत गाउँदै हिँडिरहेको छ !
कतै
यस्तो लाग्छ
दुःख भनेको
छातीभित्र उम्रिएको काँडेतार हो
जहाँ सम्झनाहरू
रगतका थोपा बोकेर चुहिन्छन् ।
हेर
क्याक्टसले पनि
मरुभूमिमा फूल फुलाइरहेको छ ।
आफैँले आफ्नै
आत्मालाई मार्नु पनि पाप हो
पानीसित हारेर
आफ्नै घरमा आगो लाउनु हो
जबकि जिउँदो आत्मा
धुवाँबाट निस्केर पनि
आकाश खोजिरहने एउटा सुन्दर आत्मीय चरा हो
बाँच्न देऊ ।
तिमीले त्यो चराको गला निमोठ्यौ
बचेरा रुन्छन्
यसरी कि
आँसु नै अन्तिम समुद्र बन्दै
हरेक आँसुका थोपाभित्र
जहाँ
इन्द्रेणीको एउटा सुन्दर रङ्ग हराएर जान्छ ।
हेर त त्यता पनि
तिम्रो छेवैमा
एउटा टुटेको ऐना
घाम पर्दा चम्कन्छ
सुकेको रूखमा पनि
वैशाखले हरियो सपना देख्छ
अनि किन
एक क्षणको अन्धकारलाई
पूरै ब्रह्माण्ड ठान्छौ !
हेर त
यो जीवन
आमाको निधारको जून हो
बुवाको थाकेको हातभित्रको भरोसा हो
सन्तानको आँखामा तैरिरहेको भोलि हो ।
त्यसैले
आऊ
मृत्युका काला ढोकाहरूमा होइन
आशाका सुनौला झ्यालहरूमा ढकढक्याऊ
यो
अनमोल जीवनमा
आत्मदाहको दाग
कुरूप छाया
किन पार्छौ ?

