(लघुकविता)
मनको अँध्यारो हटाउन
समयले झ्यालमै
जून राखिदिएको बेला
बुझ्नुपर्छ कि बिहानी नजिकै छ
जुन बिहानी भित्र्याउन थाकेका
एक–एक प्रतीक्षा–क्षणहरू
समयमै उठ्न जरुरी छ ।
मौका मौकाको कुरा हो
सुस्केराहरू पनि शक्तिमा
साटिन सक्छन्
मात्र समयमै जुट्न जरुरी छ ।
त्रासमा बाँच्नु जति थियो बाँचियो
रुन्चे हाँसो जति हाँस्नु थियो हाँसियो
अब पनि त्यही जिन्दगी जिउने हो भने
कसलाई के नै भन्नु छ र ?
होइन भने
बाँच्ने ढङ्ग र हाँस्ने रङ्ग बदल्ने हो भने
आफूलाई नढाँटी
समयको साथ र हातमा छाप भएको बेला
देशलाई शिरमा राखेर
आगो थेग्न परे थेग्न सक्नुपर्छ ।
निराशाहरू चिहानसम्म पुग्नुअघि
आशाले बाटो छेक्न सक्नुपर्छ ।

