साहित्यपोस्ट डट कम

कविता : असारे पौरख

कविता : असारे पौरख

अब असारको झरीलाई स्वीकारेर

खेतका गह्रा–गह्रामा हरियाली झुलाउनु छ

बर्खे यामको गर्मीलाई पसिनाको

थोपा–थोपामा किसानले परिभाषित गर्नु छ ।

गर्मीको याम हो

शरीर तात्छ, मथिङ्गल गर्माउँछ

तर भित्री आत्मा भने बाँझो खेतको

हरियालीले शीतल गराउँछ ।

हो, यो असारे महिना हो

किसानहरूमा जागरूकता छाउँछ

ओइलाएका अधरहरूले मुस्कानको मिठास पाउँछन् ।

एक थाल चाम्रे र एक कचौरा मोहीमा

अब हली र रोपारहरूको पेट र मन तृप्त हुन्छ ।

वर्षौँदेखि धाँजा फाटेका खेतहरूमा

अब वसन्त बयेली खेल्छ

खेतका आली–आलीमा

किसानका पौरखहरू

अन्नको झुप्पो भएर सुस्तरी बहने

शीतल पवनसँग बुर्कुसी मार्छन्।

यो वर्षातको याम हो

परिश्रमले किसानको मनमा खुसी सिञ्चिन्छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.