साहित्यपोस्ट डट कम

कविता : आर्यघाट

कविता : आर्यघाट

चिता एउटै हुन्छ

मलामीको सङ्ख्या फरक हुन सक्छ ।

चितामा अर्पिएका मालाको रङ फरक हुन सक्छ

तर मुखाग्नि दिने आगोको लप्का एउटै हुन्छ ।

धन, सम्पत्ति, गरिबी, दरिद्रता

मूल्य, मान्यता सबै एकैचोटि शून्यता ।

मनको हिसाब सबै शून्य

धनको हिसाब सबै शून्य ।

जवानीको तापलाई कति सजिलै निल्छ आगोको तापले

उन्मादको रापलाई कति सजिलै निल्छ आगोको रापले ।

यस्तो लाग्छ कि अन्तिम सत्यको साक्षी हो यो ठाउँ

आर्यघाट, यात्राको विश्राम स्थल ।

त्यो छेडोबाट हावा बग्छ

बाग्मती बगिरहन्छिन्

खरानी उड्छ—

अन्त्यमा सबै बग्छ

एउटै भएर बग्छ

त्यहाँ कुनै भेदभाव हुँदैन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.