साहित्यपोस्ट डट कम

कविता : अपाहिज जिन्दगीका गुब्बारा

कविता : अपाहिज जिन्दगीका गुब्बारा

सोच्दै छु

कावा खाँदै गरेको

चरासँग

एकजोर पखेटा

सापट लिएर

जिउमा गाँस्न पाए,

मज्जाले उडाउनु हुन्थ्यो

कुँजो जिन्दगी।

सोच्दै छु

दामोदरकुण्डबाट झरेकी

गण्डकीसँग

एउटा मूल

सापट लिएर

निर्जन एकान्तमा गएर

पट्ट फुट्न पाए,

मज्जाले शालिग्राम

बनाउनु हुन्थ्यो

पत्थर जिन्दगी।

सोच्दै छु

उत्तरतिरका

बा हिमालयसँग

एकहूल चुचुराहरू

अंश लिएर

तराईका दशगजातिर

ठड्याउन पाए,

मज्जाले उठाउनु हुन्थ्यो

भत्किएको जिन्दगी।

सोच्दै छु

लुम्बिनीमा जन्मेका

बुद्धसँग

शान्तिको हात

मागेर

मधुमास मनाउन

कालापानीतिर जान पाए,

मज्जाले फुलाउनु हुन्थ्यो

उन्युँ जिन्दगी।

सोच्दै छु

राराको निर्मलतासँग

मितेरी जाल फालेर

रातमा रमाउन आउने

जुनसहित

ताराहरू झिक्न पाए,

मज्जाले चम्काउनु हुन्थ्यो

खिया जिन्दगी ।

सोच्दै छु

रातको अन्तिम प्रहरकी

निद्रादेवीसँग

दुई–चार टुक्रा

आला सपना

मागेर

दिनभरि घाममा

सुकाउन पाए,

मज्जाले टोक्न हुन्थ्यो

सुकुटी जिन्दगी ।

ट्याग: ओम आचार्य
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.