गरिबी र अभावसँग
पैठेजारी खेल्दै
सङ्घर्षको मैदानमा लतारिएको देह !
एक ओतका लागि
एक छाकले पेट भर्नका निम्ति
परदेशमा पसिना बगाइरहेको ऊ ।
कठोर तपस्याले वर्षौँपछि
ठड्याएको एउटा झुपडीमाथि
रोपियो ‘स्क्याभेटर’ को फाली !
ढले गल्र्यामगुर्लुम
सजाएका सपनाहरू
आत्मसम्मान, स्वाभिमान
भरोसा
बुढ्यौलीको सहारा
उत्साह र उमङ्ग !
न अघि बढ्न सके पाइलाहरू
मझधारमा टक्क अडिएको छ
अन्योलतामा !
भग्नावशेष खण्डहर भूमिमा
एकटक्क हेरिरहेछ ऊ ।

