साहित्यपोस्ट डट कम

कविता : अन्त्यभन्दा धेरै पर

कविता : अन्त्यभन्दा धेरै पर

ए साथी, उठ न तिमी

अझै गर्नु छ धेरै

किन अल्झिन्छौ साना–तिना कुरामै तिमी ?

ऊ हेर त त्यो कलकलाउँदो बालक

उसको मुस्कान तिमीमै त अडिएको छ ।

उठ न तिमी

तिम्रै सुन्दर सृष्टिको पालन–पोषण गर्नलाई उठ ।

तिमी महान् त पहिल्यै थियौ

तिम्रो यस्तो सुन्दर सिर्जना हेर ।

पक्कै भोलि त्यो कलिलो सृष्टि विशाल बन्नेछ

तिम्रो ममता र आशिषको मात्रै त खाँचो छ ।

किन तड्पिन्छौ तिमी ?

तिम्रो त्यो ममताको शक्ति लिएर उठ ।

तिमी तिमी मात्रै होइनौ नि साथी

एकपटक सम्झी हेर

तिमीलाई झैँ छ कसैलाई आफ्नो काखको चिन्ता

तिनै संसार देखाउने आमालाई सोध ।

निर्भीक भएर लड यो मैदानमा

जहाँ तिम्रो जित निश्चित छ ।

नसोच समाज

नसोच पीडा

बस अघि बढ ।

तिमीभित्रकै ज्योतिलाई सोध

तिम्रो शक्ति कति छ भनेर

जे गर, जस्तो गर

तर एकपटक फेरि उठेर हेर ।

नपत्याए तिमीभित्रको तिमीलाई नै सोधेर हेर

तिमी तिमीसँगै घण्टौँ कुरा गरेर हेर

तिमीले तिमीलाई नै माया गरेर हेर

तिमीले तिमीलाई नै मौका दिएर हेर ।

के छैन र गर्न सक्ने तिमीले ?

एकपटक आफैँलाई सोधेर त हे।

अँह, हुँदैन यसरी

वर्षौँ भयो त्यो धुलोले डेरा जमाएको

झटपट उठ र टकटक्याऊ त्यसलाई तिमी

आफैँले आफैँलाई विश्वास नगरी सुखै नमान अब तिमी ।

आफैँले आफैँलाई चिनेर त हेर तिमी ।

जहाँ अन्त्य देख्छौ तिमी आफैँमा, साथी

हो त्यही बेला म अनन्त देख्छु तिमीमाथि ।

उठ न साथी ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.