भोलिको घामसँग
म उदाइनँ भने
के यी फूलहरूले मलाई याद गर्छन् ?
के यी हावाहरूले मलाई खोज्छन् ?
के यी पुतलीहरू मेरो वियोगमा रुन्छन् ?
के यी नदीहरू मेरो गीत गाउँछन् ?
के यी डाँडाकाँडाले मलाई सम्झन्छन् ?
भोलिको जूनसँग
म आइनँ भने
के यी ताराहरू मलाई पर्खन्छन् ?
के यी रातहरू मौनतामा रुन्छन् ?
के यो धुरीमा चराहरू बास बस्छन् ?
के यो आँगनमा जूनताराहरू खेल्छन् ?
भोलि म आइनँ
भने
के समयले मेरो नाम सम्झन्छ ?
कि मेरा पदचापहरू
धूलोसँगै उडेर हराउँछन् ?
कि हावाले
मेरो नामको अन्तिम अक्षर पनि मेटाइदिन्छ
हिउँदमा चुपचाप झरेको
रुखको एउटा पातजस्तै ।


