हेरेर तिम्रा , गाजलु आँखा, तिमी मै भुल्दछु
मदको नशा, के नशा हो र? तिमीमै झुम्दछु
तिमी नै मेरी, भरोसा प्यारी, तिमी नै आधार
तिमी नै मेरी, उर्जा र बल, तिमी नै विचार ।१।
तिम्रो त्यो बोली, सुनेर मेरा, सृजना फुल्दछन्
तर र मन, झङ्कृत पार्दै, भावना खुल्दछन्
मनमा तिमी, तनमा तिमी, बग्दछ्यौ नशामा
बनेर फूल, छरेर बास, फक्रन्छ्यौ साथमा ।२।
मीठो मसिनो , खाएर प्यारी, काममा जाओैँला
दु:ख र सुख, जे जति हुन्छन् , बसेर बाँडौँला।
कामना प्यारी, आकाश छुनु, आड म दिउँला
फाटेमा मन, बसेर संगै, मायाले सिउँला ।३।
हिमाल हाँस्छ, देखेर हाम्रो, युगल संसार
गर्दछ डाहा, जूनले देखी, पिरती अपार
कतिछन् जल्ने, देखेर हामी, हाम्रो यो मिठास
जल्नेको मन, जलिनै रहोस् , नगलोस् विश्वास ।४।
हाम्रो यो जोडी, बन्नेछ बिम्ब, प्रेमिल काव्यको
काँधमा काँध, मिलाई उक्लौँ, सोपान भाग्यको
कसिलो पारौँ, मायाको बन्धन्, पिरती सप्रन्छ
युगौंयुग् बाँच्ने, पिरती फूल, मनमा फक्रन्छ ।५।

