हामी आफैँभित्र निरन्तर युद्ध लडिरहेका छौँ
सत्य र सुविधाबीच, नैतिकता र अवसरबीच
मानवता र उपभोगबीच।
हामी सबै अर्जुन हौँ
द्विधामा फसेका
हाम्रो कृष्ण अब अन्तरात्मा हो
जसको आवाज हामीले सुन्नै छोडिसक्यौँ।
हाम्रो हृदयको कोषमा बाँचिरहेछ
सत्य र झुटको अन्धकार
प्रेम र घृणाको आकाशीय भूकम्प
हाम्रो सोचको गल्लीमा घुस्छ
डर र लालच ।
सडकहरू विज्ञापनले भरिएका छन्
जहाँ सपना बिक्रीमा छ
जहाँ मोह र लोभको मूल्य छापिएको छ
र हामी हिँडिरहेका छौँ
पैसाले नैतिकता किन्ने होडमा ।
गाउँका बाटाहरू बन्दै छन्
हरियो आशाको प्रतीक
तर त्यहाँ पानी र सहरको
धुलोले सङ्घर्ष गरेको छ ।
बजारका पसलहरूमा
सपनाहरू बिक्रीमा राखिएका छन्
तर हाम्रा शिशुहरूको भविष्य
किनबेचको हिसाबले मापन हुन्छ।
सत्य अब पत्रपत्रिका र मोबाइल नोटिफिकेसनमा छ
हामीले बुझ्न छोडेका छौँ
सत्य हामीभित्रको आवाज हो।
राजनीतिज्ञहरू हाँस्दै छन्
हामीले गुमाएको विश्वासको हाँसोमा
हाम्रो भाषामा झुट छ
हाम्रो धर्ममा मोह छ
र हाम्रो इतिहासलाई नै बेचिदिएका छन्।
हाम्रा घरहरू, स्कुलहरू र मन्दिरहरू
सबै बजारको ‘स्टोर’ जस्ता छन्
जहाँ हाम्रो विश्वास किनिन्छ
हाम्रा सपनाहरू बिक्री हुन्छन्
हाम्रो भविष्यको मूल्य निर्धारण गरिन्छ
नयाँ नियमहरू र नयाँ कानुनहरूले
तर, पुरानो मानवता हराएको छ ।
हामीले भोगेका पीडाहरू सत्यको परीक्षण हुन्
हाम्रो मोह र लोभ अन्धकारको नक्सा हो
र हरेक निर्णय— हाम्रो आत्मसङ्घर्षको रणभूमि।
हाम्रो मस्तिष्क अब युद्धभूमि हो
जहाँ न्युरोनहरू झगडा गर्छन्
जहाँ भावनाहरू आपसमा भिड्छन्
जहाँ विचारहरूले आकाश र धर्तीलाई तोडफोड गर्छन् ।
हामी जित्छौँ भने
बाह्य विजयले होइन
आन्तरिक साक्षात्कारले जित्नुपर्छ।
हामीले हाम्रो छायालाई चिर्नुपर्छ
हाम्रो लोभ, मोह, डर र द्वैतलाई पगाल्नुपर्छ।
हामी हरेक क्षण यो युद्ध लडिरहेका छौँ
हाम्रो भावना, हाम्रो विचार, हाम्रो कार्यमा ।
यो द्वन्द्व कहिल्यै टुङ्गिँदैन
किनभने जति उज्यालो फैलियो
त्यति नै छाया गहिरो भयो ।
मृत्युबाहेक कुनै स्थायी सत्य छैन
तर यही सङ्घर्षले हामीलाई मानव बनाउँछ
हामीलाई चेतनशील बनाउँछ
हामीलाई मुक्त बनाउँछ।
हामी हरेक दिन उठ्छौँ अन्धकारको विरुद्ध
अन्तरात्माको आवाज सुन्दै
सत्य र झुट, सत्य र सुविधा, सत्य र मोहबीच।

