साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : अनन्त मुस्कान

कविता :  अनन्त मुस्कान

डँढेलो सल्किरहेछ हिमालहरूमा
र, हामी बरफ तापिरहेछौँ।
आफ्नै भविष्यलाई
खुवाएर उत्तराधुनिक लोप्पा
प्रकृतिसँग खेलिरहेछौँ
रसियन रुलेट ।

हामी एक–एक गरी
हारिरहेछौँ सबथोक
एउटा हार
उत्तरमा ‘पोलार बियर’को नाम,
अर्को हार
दक्षिणमा ‘एम्पेरर पेन्गुइन’को नाम
अनवरत खेल र असङ्ख्य हारहरू ।

आर्कटिक पग्लिरहेछ
हामी मौन जमिरहेछौँ ।
जम्नु र निस्तेज जमिरहनु
क्षितिज पछ्याउनेहरूलाई
हुन्न मन्जुर ।

सारा सभ्यता
मन्थन गरी निस्किएको
सहअस्तित्वको यो इन्द्रेनी तेज
पुर्‍याऔँ सृष्टिको हरेक कुनामा ।

अलिकति प्रेम
अमेजन जङ्गलमा छरिदिऊँ
हाम्रो प्यास मेटाउँदामेटाउँदै तिर्खाएका काभेरीहरूलाई
हाम्रै मयल धुँदाधुँदै मैलिएका गङ्गा र वाग्मतीहरूलाई
भरिदिऊँ फेरि स्निग्ध जलराशिले,
फर्काइदिऊँ हिमाललाई
उसको आदिम शान्ति

हामीले पीडा मात्र दिँदा पनि
हामीलाई सबथोक दिने प्रकृतिको नाममा
गरौँ एउटा अन्तिम प्रतिज्ञा
अब हामी राख्ने छैनौँ
‘विवेक’ धरौटी
कुनै मल्टिनेसनल कम्पनीमा ।

अनि मात्र
पूर्ववत् हाँस्ने छन् हिमालहरू
नाच्ने छन् मुनालहरू
र आफ्नै पुरातन लयमा
हालेर नवीन चेतनाको भाका
मुस्कुराउने छ सारा सृष्टि
सद्भावको अनन्त मुस्कान।

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.