साहित्यपोस्ट डट कम

कविता : अनामिका

कविता : अनामिका

एक मुठी त्यो उज्यालो

मेरो आङमा कहिले पोखिएला ?

सधैँ गाग्री घोप्टिएर

भान्सामा छताछुल्ल पानी पोखिएझैँ

किन देख्छु म ?

सधैँ टहटह जुनेलीले मेरा एक जोर

आँखा टट्याइरहन्छन्

सधैँ देख्छु, हेर्छु

ठिङ्ग उभिएर एकोहोरो ।

आमाले देखेका ती सपनाहरू

ब्रह्मपुत्र बगिरहँदा

तातो रेगिस्तान बनेर

बुबाका चाहनाहरू

सपनामै तुहिन थाल्दा

सफर गर्दागर्दै सम्झिन्छु सधैँ

तिर्खाएका ती मेरा सपनाहरू

र अनिँदा रातहरू ।

घाम, जुन र ती ताराका उज्यालो

कहाँ खोजूँ म हँ ?

भोक, तिर्खाका ती आयतनहरू

कहिलेसम्म नापिरहनूँ म ?

म को हुँ ? कसैले भनिदेऊ न !

शाश्वत सत्य बनेर

हरेक पाइलामा सँगसँगै

मृत्यु मात्रै किन मितेरी लाउँदै

हिँड्न खोज्छ आफूसँग ?

आफ्नै छाया किन मसँग

तर्किँदै हिँडेको होला ?

कि मेरो परिचय नपाएर हो ?

कसलाई सोधूँ म ?

के हो त मेरो परिचय ?

कतै नामविहीन ‘अनामिका’ त होइन ?

घरिघरि यस्तो लाग्छ मलाई

न्वारानको नाम पाएर पनि

अनामिका पो रहेछु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.