एक मुठी त्यो उज्यालो
मेरो आङमा कहिले पोखिएला ?
सधैँ गाग्री घोप्टिएर
भान्सामा छताछुल्ल पानी पोखिएझैँ
किन देख्छु म ?
सधैँ टहटह जुनेलीले मेरा एक जोर
आँखा टट्याइरहन्छन्
सधैँ देख्छु, हेर्छु
ठिङ्ग उभिएर एकोहोरो ।
आमाले देखेका ती सपनाहरू
ब्रह्मपुत्र बगिरहँदा
तातो रेगिस्तान बनेर
बुबाका चाहनाहरू
सपनामै तुहिन थाल्दा
सफर गर्दागर्दै सम्झिन्छु सधैँ
तिर्खाएका ती मेरा सपनाहरू
र अनिँदा रातहरू ।
घाम, जुन र ती ताराका उज्यालो
कहाँ खोजूँ म हँ ?
भोक, तिर्खाका ती आयतनहरू
कहिलेसम्म नापिरहनूँ म ?
म को हुँ ? कसैले भनिदेऊ न !
शाश्वत सत्य बनेर
हरेक पाइलामा सँगसँगै
मृत्यु मात्रै किन मितेरी लाउँदै
हिँड्न खोज्छ आफूसँग ?
आफ्नै छाया किन मसँग
तर्किँदै हिँडेको होला ?
कि मेरो परिचय नपाएर हो ?
कसलाई सोधूँ म ?
के हो त मेरो परिचय ?
कतै नामविहीन ‘अनामिका’ त होइन ?
घरिघरि यस्तो लाग्छ मलाई
न्वारानको नाम पाएर पनि
अनामिका पो रहेछु ।

