साहित्यपोस्ट डट कम

कविता : एल्गोरिदमको युग

कविता : एल्गोरिदमको युग

हामी अब

हातले होइन

स्क्रिनले एकअर्कालाई छुन्छौँ

आँखा भेटिनुअघि

प्रोफाइल मिल्छ

माया सुरु हुनुअघि

डाटा जाँचिन्छ ।

सत्य अब

आवाजले होइन

भाइरल भएर चिनिन्छ

भीडले पत्याएपछि मात्र

विचार

“ठीक” ठहरिन्छ !

सहरहरू स्मार्ट बन्दै छन्,

तर मनहरू

झन् एक्लिँदै छन्

एआईले कविता लेख्छ

मानिसले भने

आफ्नो पीडा व्यक्त गर्न

शब्द खोज्दै छ ।

बालकको हातमा

कागज होइन

स्क्रिन छ

जहाँ सपनाभन्दा पहिला

विज्ञापन खुल्छ ।

तर यही डिजिटल धुवाँभित्र

कहीँ

एउटा सानो मुटु धड्किन्छ

जो अझै सोध्छ

“मानिस हुनु भनेको

केवल अपडेट हुनु हो ?”

यो युग

रफ्तारको महासागर हो

तर किनारामा उभिएको

हाम्रो आत्मा

अझै

स्पर्श खोजिरहेछ

अर्थ खोजिरहेछ

मानवता खोजिरहेछ !

किनकि

ट्रेन्ड बदलिन्छ

टेक्नोलोजी फेरिन्छ

तर संसार बचाउने

एक मात्र एल्गोरिदम

आज पनि उही छ

प्रेम, करुणा

र जिम्मेवारी !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.