बुवा, सादर दण्डवत् !
गाउँ–बस्ती कस्तो छ हिजोआज ?
घरमुनिको बाँङ्गेसिमल
बेँसी झर्दाको चौतारी
फाँटका अजङ्गका ढुङ्गाहरू
सबै–सबै उस्तै–उस्तै त होलान् नि !
कि वर्षेनि तर्साउने पहिरोको चपेटामा परे ?
गाई–गोठका कुरा
भो… नसोधौँ होला ।
गाउँ–बेँसीको दैनिकी
घाँस–कुँडोको साँझ–बिहान
डालेघाँसको पुग–नपुग
सबै–सबै
पुरानो चलचित्रका कथाजस्तै
विस्मृतिमा पुगेका कुरा पनि सोध्दिनँ ।
म त्यहाँ छैन
हजुरको उमेरले गर्न नसक्ने कुरा, के सोध्नु ?
साउने सङ्क्रान्तिमा लुतो त फालिन्छ होला ।
त्योभन्दा अगाडि
असार–पन्ध्रको मेसोमा
बाउसेहरू पाइन्छन् कि पाइँदैनन्, बुवा ?
त्यो समयको लामो क्रान्ति वा भ्रान्तिबाट बचेका
मेरा दमालीहरू
एउटै स्वरमा असारे गीत गाउँछन् कि गाउँदैनन् ?
म पढ्न जाने गरेको
गाउँको सरकारी स्कुलको ढोकामा ताला लागेको थाहा पाएँ
भो, अरू सोध्दिनँ ।
अँ, साँच्चै, स्कुल बन्द भए पनि
गाउँको हटियामा वर्षेनि हुने लाखे नाचमा
ताली मार्दै रमाउने
स–साना बच्चाहरू त छन् होला नि, हैन ?
दसैँ–तिहारका रोटे–पिङ, लिङ्गे–पिङहरू
उस्तै छन् कि मैले पढेको सरकारी स्कुलजस्तै भइसके ?
कार्तिक–मङ्सिर त आउँछ नै
देउसी–भैलो आउँछ कि आउँदैन ?
न्वागी खाइन्छ कि खाइँदैन हिजोआज, बुवा ?
सुक्खा, चिसो, बालीविहीन, उजाड…
मेरो स्मरणमा रहेको हिउँदको तस्बिरजस्तै
अथवा भनौँ
डाँडाको टाकुरोमा भर्खरै बनेको भ्यु–टावरबाट देखिएको
बाँदरहरूको हुलले क्षत–विक्षत मकैबारीजस्तै
रासायनिक मलको कुरा कोट्याएर मन अमिलो किन पार्नु
भो, पार्दिनँ !
अन्तमा
चाउरी परेको अनुहारका गन्न सकिने रेखाहरू र उमेर
उस्तै–उस्तै भएको यो बेलाका
अन्य दैनिकी
सुनाउँदै गर्नुस् है, बुवा ।
घरमा तलमाथि गर्दै, भित्र–बाहिर हिँड्दै गरेको दृश्य
अक्कल–झुक्कलको सदृश्य संवादद्वारा नै सही
देखाउँदै गर्नुस् है, बुवा ।
भर्खरै चारबीस हिउँद काट्नुभएकोमा
दीर्घ जीवनको कामना गर्दै
पुनः साष्टाङ्ग दण्डवत् सहित
पत्र बन्द गर्ने आज्ञा माग्दछु
उही
हजुरको मनको छेउमा रहेको मुग्लानिया छोरा ।

