साहित्यपोस्ट डट कम

कविता : अक्षरभित्रको गाउँ

कविता : अक्षरभित्रको गाउँ

बुवा, सादर दण्डवत् !

गाउँ–बस्ती कस्तो छ हिजोआज ?

घरमुनिको बाँङ्गेसिमल

बेँसी झर्दाको चौतारी

फाँटका अजङ्गका ढुङ्गाहरू

सबै–सबै उस्तै–उस्तै त होलान् नि !

कि वर्षेनि तर्साउने पहिरोको चपेटामा परे ?

गाई–गोठका कुरा

भो… नसोधौँ होला ।

गाउँ–बेँसीको दैनिकी

घाँस–कुँडोको साँझ–बिहान

डालेघाँसको पुग–नपुग

सबै–सबै

पुरानो चलचित्रका कथाजस्तै

विस्मृतिमा पुगेका कुरा पनि सोध्दिनँ ।

म त्यहाँ छैन

हजुरको उमेरले गर्न नसक्ने कुरा, के सोध्नु ?

साउने सङ्क्रान्तिमा लुतो त फालिन्छ होला ।

त्योभन्दा अगाडि

असार–पन्ध्रको मेसोमा

बाउसेहरू पाइन्छन् कि पाइँदैनन्, बुवा ?

त्यो समयको लामो क्रान्ति वा भ्रान्तिबाट बचेका

मेरा दमालीहरू

एउटै स्वरमा असारे गीत गाउँछन् कि गाउँदैनन् ?

म पढ्न जाने गरेको

गाउँको सरकारी स्कुलको ढोकामा ताला लागेको थाहा पाएँ

भो, अरू सोध्दिनँ ।

अँ, साँच्चै, स्कुल बन्द भए पनि

गाउँको हटियामा वर्षेनि हुने लाखे नाचमा

ताली मार्दै रमाउने

स–साना बच्चाहरू त छन् होला नि, हैन ?

दसैँ–तिहारका रोटे–पिङ, लिङ्गे–पिङहरू

उस्तै छन् कि मैले पढेको सरकारी स्कुलजस्तै भइसके ?

कार्तिक–मङ्सिर त आउँछ नै

देउसी–भैलो आउँछ कि आउँदैन ?

न्वागी खाइन्छ कि खाइँदैन हिजोआज, बुवा ?

सुक्खा, चिसो, बालीविहीन, उजाड…

मेरो स्मरणमा रहेको हिउँदको तस्बिरजस्तै

अथवा भनौँ

डाँडाको टाकुरोमा भर्खरै बनेको भ्यु–टावरबाट देखिएको

बाँदरहरूको हुलले क्षत–विक्षत मकैबारीजस्तै

रासायनिक मलको कुरा कोट्याएर मन अमिलो किन पार्नु

भो, पार्दिनँ !

अन्तमा

चाउरी परेको अनुहारका गन्न सकिने रेखाहरू र उमेर

उस्तै–उस्तै भएको यो बेलाका

अन्य दैनिकी

सुनाउँदै गर्नुस् है, बुवा ।

घरमा तलमाथि गर्दै, भित्र–बाहिर हिँड्दै गरेको दृश्य

अक्कल–झुक्कलको सदृश्य संवादद्वारा नै सही

देखाउँदै गर्नुस् है, बुवा ।

भर्खरै चारबीस हिउँद काट्नुभएकोमा

दीर्घ जीवनको कामना गर्दै

पुनः साष्टाङ्ग दण्डवत् सहित

पत्र बन्द गर्ने आज्ञा माग्दछु

उही

हजुरको मनको छेउमा रहेको मुग्लानिया छोरा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.