आइमाई – १
आमाको मृत्युपछि
घर पनि मर्यो आत्महत्या गरेर
आमा बाँचुञ्जेल
गाउँ गाउँ थिएन
गाउँ पुरै थियो एउटा परिवार
एकाघरकै परिवार थिए सबै बटुवाहरू
आमाका आँखामा अक्षरहरू थिएनन्
आमालाई दिएन कुनै विद्यालय र महाविद्यालयले
कुनै डिग्री र प्रशिक्षण
तैपनि
आमाका शब्दहरूमा मङ्सिर झुल्थ्यो
आमाका लय र गतिहरूमा
सिङ्गै वसन्त र शरद झुल्थ्यो
जति आउँथे नि जीवनमा हुरी र हुण्डरीहरू
ती सबै थाक्दै भाग्थे आमाका किनारहरूबाट
आमा संसारमा नहुनुभएपछि
किलामा झुन्डिरहेको
पुरानो चोलो र फरिया पनि हटायो कसैले कुनै दिन
त्यसै दिनदेखि
घर पनि मर्यो आत्महत्या गरेर
आइमाई – २
आगोको नीलो ज्वाला
मेरो अघिल्तिर दन्किरहेछ
म मृत्युलाई भुटुनमा भुटेर
अगेनामाथि सुकुटी सुकाइरहेछु
कसैले एकाबिहानै सोध्यो
मृत्यु हुँदैछ आज साँझ तिम्रो
के छ दिनभरिको योजना ?
मैले नुहाइरहेँ दिनभर
आगोका फिलिङ्गाहरूमा
जीवन एक्लै नचल्ने रहेछ
जतिसँग हिँड्दै आएँ यहाँसम्म
तिनीहरू सबैले होमिरहे अग्निकुण्डमा
पुरै अग्निकुण्ड निलेर
बगाइरहेछु विशाल हिमनदी
मैले बगाएको हिमनदीमा
आगोले निलिरहेछ कठोर आगो
तिमीलाई भेटेपछि
भेटेको हुँ मैले आगोको नीलो ज्वाला

