रिस, आवेगले
किन आगोको रूप लिन्छ होला ?
त्यो आगो
जसले जीवन दिन्छ
किन जीवन लिन्छ पनि होला ?
यहाँ
प्रत्येक रिस
किन आगो बन्छ होला ?
किन रिसको आगो
र आगोको रिसले
सधैँ परिवर्तन खोज्छ होला ?
किन आगो
सिर्जनाको सुरुवात
अनि
विनाशको खात पनि
बन्छ होला ?
तर
त्यही आगो
अचेल मलाई
किन त्यति तातो लाग्न
छोडेको होला ?
किन चिसो–चिसो
लाग्न थालेको होला ?
किन पोल्दैन
आगोले ?
किन बल्छ
तर बोल्दैन
आगो ?
किन
मौन जस्तो लाग्छ
आगो ?
के आगोले
गल्ती गरेको हो र ?
प्रायश्चितमा
परेकै हो र ?
खरानी
अङ्गालो हालेर
रोइरहे जस्तो लाग्छ
आगो,
खरानीको कहानी
बोकेर उभिए
जस्तो लाग्छ
आगो;
र त्यस्तै
लेखिए जस्तो लाग्छ—
आगोको इतिहास ।

