साहित्यपोस्ट डट कम

कविता : आगो

कविता : आगो

रिस, आवेगले

किन आगोको रूप लिन्छ होला ?

त्यो आगो

जसले जीवन दिन्छ

किन जीवन लिन्छ पनि होला ?

यहाँ

प्रत्येक रिस

किन आगो बन्छ होला ?

किन रिसको आगो

र आगोको रिसले

सधैँ परिवर्तन खोज्छ होला ?

किन आगो

सिर्जनाको सुरुवात

अनि

विनाशको खात पनि

बन्छ होला ?

तर

त्यही आगो

अचेल मलाई

किन त्यति तातो लाग्न

छोडेको होला ?

किन चिसो–चिसो

लाग्न थालेको होला ?

किन पोल्दैन

आगोले ?

किन बल्छ

तर बोल्दैन

आगो ?

किन

मौन जस्तो लाग्छ

आगो ?

के आगोले

गल्ती गरेको हो र ?

प्रायश्चितमा

परेकै हो र ?

खरानी

अङ्गालो हालेर

रोइरहे जस्तो लाग्छ

आगो,

खरानीको कहानी

बोकेर उभिए

जस्तो लाग्छ

आगो;

र त्यस्तै

लेखिए जस्तो लाग्छ—

आगोको इतिहास ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.