साहित्यपोस्ट डट कम

कविता : आफूतिर फर्क

कविता : आफूतिर फर्क

१. आफूतिर फर्क

तिमी भन्छौ नि

हामीले जन्माइदिएका बच्चाहरू विदेशका लागि हुन्

देशमा हुञ्जेल विदेशकै इतिहास पढ्छन्

विदेशकै भूगोल पढ्छन्

अमेरिकाको राजधानी वाशिङ्गटन डीसी

क्यानडा, जापान, डेनमार्क, जर्मनी

युकेको लण्डन, भव्य सहर

नर्वेमा आधा रातमा घाम उदाउने यस्तै–यस्तै ।

शिक्षक भन्नुहुन्छ

देशमा रहुन्जेल विदेशकै रहनसहन पढ्छौँ

देशमा हुञ्जेल विदेशकै भाषा पढ्छौँ ।

अभिभावक भन्नुहुन्छ “विदेश !”

हुन त यो देश पनि अर्काको विदेश न हो

हाम्रो विदेश कसैको देश हो

ग्लोबल भिलेज विकास भइरहेछ संसार ।

तीन महिनामा भाषा जानेपछि हो

देशले ‘केही नदिएको’ तिमीलाई

देश नेताले बिगारेको त्यतिखेर थाहा पाएका हौ

देशमा ‘गर्ने वातावरण नभएको’ ज्ञान आएको हो

राहदानी लिएपछि ।

विदेशी सेनामा जान तिम्रो छातीको चौडाइ लिएपछि

देश साँघुरो भएको हो तिमीलाई ।

विदेशमा बसेर डलरमा तलब लिन थालेपछि

देशको रुपैयाँ कमजोर लागेको हो तिमीलाई ।

उतै जान्छन्, पाखुरा वा दिमाग

आ–आफ्ना हैसियतले खर्च गर्छन् ।

कहिलेकाहीँ लाग्छ

हामीले बिताइरहेका समय विदेशीकै लागि हो

हुर्केका बालबच्चा विदेशिन्छन्

हामीलाई बोलाउँछन् समर भ्याकेसन र विन्टर भ्याकेसनमा ।

हामीले गरिरहेका सङ्कलन उतैका लागि हो कि ?

हामी डुबिरहेका ऋण उतैका लागि हो कि ?

फर्क, अलिकता चेत लिएर फर्क ।

कामले, सुविधाले, किस्ता अनि करले

तिमी फर्किन नसकिने गरी उतै–उतै जकडिएका छौ भने पनि

केही दिनका लागि त फर्क ।

बरु यसो गर युवा— हामीलाई देशमै ठिक छ

यहाँ जन्ती जाँदा हतार छैन

यहाँ मलाम जाँदा ठेक्का छैन

यहाँ सडकमा हिँड्न मनाही छैन

घाइते अस्पताल पुर्‍याइन्छन् दुर्घटनामा पुलिसभन्दा पहिले ।

यस्तै–यस्तै सन्देश दिएर— हामीलाई यही ठिक छ भनेर फर्क ।

बा–आमाले जसोतसो पढाएपछि, विश्वविद्यालयले योग्य बनाएपछि

भाषा नजान्दैमा बर्बाद भएछु भन्ने नसोची फर्क ।

फर्क, विकेन्ड यता बिताएपछि तिमी उतै फर्क

तर, स–सानो हाम्रो सहरजत्रो तिम्रो डिपार्टमेन्टल साहुको

सीसी क्यामेरासँग हाम्रो स्वतन्त्रताको मोल नगरीकन फर्क ।

यति चेत लिएर फर्क

हामीलाई देशमै पैसाले किन्न नसकिने समय रहेछ भनेर फर्क

चेतना दिएर फर्क ।

२. प्रेमको ब्याज खानेहरूप्रति

भर्खर सल्किएको एक थान जवानी चुरोट

फुत्त फालेर बुटले कच्याककुचुक पार्न सक्ने

जिउँदै आफैँलाई दागबत्ती दिन सक्ने ।

तिम्रा यस्तै–यस्तै हर्कतहरूले

प्रेमको परिभाषामा पिँधैदेखि हरिया लेउ लागिसकेछन् ।

म त कञ्चन प्रेम खोजिरहेथेँ

म मेरो धर्मको कर्म गरिरहेथेँ ।

बागमतीमा बिस्टा बर्साउने तिमीले

प्रेम गर्नमै तर्साउने तिमीले

प्रेमको ट्युसन पढाइरहेथ्यौ

‘प्रेममा नपर्नु, भविष्य बर्बाद छ’ ।

ए अबुझ पागल प्रेमी !

तिम्रो प्रेमको परिभाषा मठार ।

वर्षौँदेखि फूलसँग आँखा नजुधाएको

बिरुवासँग स्पर्श नगरेको

नदीसँग डुबुल्कीमा नहराएको

बारीको कान्लामा ननिदाएको

माटोको स्पर्श नभेटेको अनुभवहीनहरूले

बदलिरहेछन् प्रेमका परिभाषा ।

युद्धमा हारेका सेना होइनौ तिमी

बन्दुक बोकेर जाँदा नपड्किएपछि

शत्रुको घेराउमा परेका विद्रोही होइनौ तिमी ।

अक्षरमा पक्रिएर, शब्दको हतकडी लाउँदै

वाक्यले घेरेर प्रेमलाई

सङ्कीर्णताको पर्खालले छेकेर प्रेमलाई

उसैको सावाँ र ब्याज खान तमतयार

व्यापार घाटाको चरमता अँगालेर

रन्थनाइरहेका, ढुनमुनिरहेका

छटपटाइरहेका, बेचैन भएका ए अबुझ प्रेमीजन हो !

सम्झ— प्रेम गर्नका लागि हो, मर्नका लागि होइन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.