साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

कविता : आदिकवि भानुभक्तप्रति भक्तिमाला

कविता : आदिकवि भानुभक्तप्रति भक्तिमाला

हे आदिकवि भानुभक्त
नेपाली भाषाका उज्याला दीप
तिमी जन्मिएको दिन
आज पनि नेपाली मनमा
श्रद्धाको फूल फुलिरहन्छ ।
समय बित्यो
युग फेरियो
सत्ता फेरिए
व्यवस्था फेरिए
तर फेरिएन
तिमीले बालेको ज्ञानको दियो ।
तिमीले हामीलाई
केवल कविता दिएनौ
तिमीले आत्मा दियौ
पहिचान दियौ
भाषाको स्वाभिमान दियौ
र नेपाली भएर बाँच्ने गौरव दियौ ।
तिमीले देखेको त्यो घाँसी
साधारण मानिस थिए ।

न कुनै राजगद्दी
न कुनै पद
न कुनै शक्ति
न कुनै सम्पत्ति ।

तर उसले एउटा कुवा खनेर
आफ्नो अस्तित्वलाई
समाजको सेवासँग जोड्यो ।
त्यही दृश्यले
तिम्रो हृदयलाई छोयो
कलमलाई जागृत गरायो
र संसारले
घाँसीलाई पनि चिन्यो ।
हे भानु
यदि तिमीले
त्यो घाँसीलाई नदेखेको भए
सायद हामीले
श्रमको सम्मान गर्न
यति ठूलो पाठ नै पाउने थिएनौँ ।

आज पनि
हामीलाई घाँसी चाहिएको छ
कुवा खन्ने हात चाहिएको छ
समाजका लागि
निस्वार्थ पसिना बगाउने
मनहरू चाहिएका छन् ।

आज धेरैले
झण्डा बोक्छन्
नारा लगाउँछन्
एक-अर्कालाई गाली गर्छन्
तर समाजका लागि
एउटा कुवा पनि खन्दैनन्
एउटा पुस्तक पनि लेख्दैनन्
एउटा बालकलाई
सही शिक्षा पनि दिँदैनन् ।
हे भानु
हामीलाई
झण्डा बोक्नेभन्दा
कलम बोक्ने शक्ति देऊ ।
घृणा फैलाउनेभन्दा
माया बाँड्ने भाषा देऊ ।
हल्ला गर्नेभन्दा
सत्य बोल्ने साहस देऊ ।

हाम्रो समाजमा
सूचनाभन्दा अफवाह धेरै छ
ज्ञानभन्दा भ्रम धेरै छ
कर्तव्यभन्दा अधिकारको माग धेरै छ
आलोचनाभन्दा
आत्मसमीक्षा कम छ ।
यस्तो समयमा
तिम्रो रामायणको शिक्षा
तिम्रो सरल भाषा
तिम्रो लोकप्रेम
हाम्रो मार्गदर्शन बनोस् ।

प्रत्येक विद्यालयमा
भानुको सुगन्ध फैलियोस् ।
प्रत्येक घरमा
नेपाली भाषाको सम्मान बढोस् ।
प्रत्येक बालकले
सिर्जना गर्न सिकून् ।
प्रत्येक युवाले
समाज बदल्ने सपना देखून् ।
हे आदिकवि
हामीलाई यति वरदान देऊ
हामी पदका लागि होइन
परोपकारका लागि बाँचौँ ।
हामी प्रसिद्धिका लागि होइन
सार्थक जीवनका लागि लेखौँ ।
हामी विभाजनका लागि होइन
एकताको गीत गाऔँ ।

हाम्रा हातहरू
सही सूचना बाँड्ने बनून् ।
हाम्रा कलमहरू
सत्यका पक्षमा उठून् ।
हाम्रा विचारहरू
मानवताका पक्षमा उभिऊन् ।
हाम्रा कर्महरू
आउँदा पुस्ताका लागि
प्रेरणा बनून् ।
हे भानु
तिमीले जस्तै
हामी पनि केही छोडेर जाऔँ
धन होइन
मानवता
सत्ता होइन
सदाचार
अहङ्कार होइन
आदर्श

स्वार्थ होइन
सेवाको इतिहास ।
भौतिक रूपमा
तिमी हामीसँग छैनौ
तर हरेक असार २९ मा
हरेक नेपाली अक्षरमा
हरेक रामायणको श्लोकमा
हरेक सिर्जनशील मनमा
हरेक सत्यको खोजीमा
तिमी अमर छौ ।

तिम्रो प्रेरणाले
नेपाली भाषा अझ समृद्ध बनोस् ।
नेपाली साहित्य अझ उन्नत बनोस् ।
नेपाली समाज अझ सभ्य बनोस् ।
नेपाली चेतना अझ जागृत बनोस् ।
हामी सबै
आफ्नो जीवनको एउटा “कुवा” खनौँ
कसैले ज्ञानको
कसैले सेवाको
कसैले इमानदारीको
कसैले अनुसन्धानको
न्यायको
कसैले प्रेमको ।

यही नै हुनेछ
तिमीप्रतिको साँचो श्रद्धाञ्जली ।
जय नेपाली भाषा !
जय नेपाली साहित्य !
जय श्रम !
जय घाँसी !
जय आदिकवि भानुभक्त !
जय रम्घा !

 

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.