यो धर्तीको सबथोक वस्तुलाई
मैले छोएको छु
अदृश्यको यो हावालाई छोएको छु
माटो
पानी
ढुङ्गा
पहाड, हिमाल, तराई
देश, भेष, परिवेश आदि इत्यादि
मैले छोएको छु ।
अब फेर्न बन्द गर सास
यो हावालाई मैले फोक्सोमा लिएर
सास फेर्दै छोएको छु
अब टेक्न छोड, मैले यो धर्तीको
माटो छोएको छु
अब के गर्छौ पिएर पानी ?
मैले नदीसँग, तालसँग, हिमालसँग
अनि समुद्रसँग मितेरी लाएको छु
मैले मितेरी लाए
पछि ती पनि अछुत भए ।
पुजेर पनि के धर्म लाग्ला र तिमीलाई ?
मैले तिम्रो भगवान्लाई बनाएको हूँ ।
मैले छोएको माटो जाबो दुई फिट खनेर
फाल्दैमा कहाँ शुद्ध बन्ला र ?
अब धर्ती प्वाल पर्ने गरी खनेर माटो फाल !
तिम्रा धर्मका नामका पाखण्डीहरूलाई राख
महायज्ञ लगाऊ, भक्ति भजन गाऊ
तिमीले तिम्रो कर्म नै धर्मविपरीत गरेपछि
कसरी तिम्रो धर्म होला र ?
यो ब्रह्माण्डका कणकणहरूलाई
मेरा नजरले देखेका छन्
तिम्रो भगवान्को बासस्थानलाई
मेरा हातले बनाएका हुन्
तिमीले पिउने अमृतसरहको पानीको धारा
मेरो श्रम र सिपले निर्माण भएको हो
तिमीले नाङ्गो शरीर ढाक्ने वस्त्र
नाकमा, कानमा, हातमा लगाउने गरगहनाहरू
मैले छोएर बनाएको हूँ ।
तिमीलाई अछुत लाग्छ भने
अब टेक्न छोड जमिन
फेर्न छोड सास
पिउन छोड पानी
आँखा फुटाऊ, यो धर्ती, यो आकाश सबथोक
मैले हेरेको छु, मैले छोएको छु
नाङ्गो राख शरीर
घरबारविहीन भएर हिँड
मैले छोएको छु ।
उचाइदेखि गहिराइसम्म
धर्तीदेखि आकाशसम्म
हिमालदेखि समुद्रसम्म
दृश्यदेखि अदृश्यसम्म
सजीवदेखि निर्जीवसम्म
अब कसरी अछुत लाग्छ तिमीलाई ?
यो सारा ब्रह्माण्ड मेरै कब्जामा छ !
ब्रह्माण्डविहीन भएर विलीन होऊ तिमी
किनकि यो ब्रह्माण्ड अछुत छ
किनकि मैले छोएको छु ।

