हिजो
आफ्नै आँगनमा
बन्दुक, बम
र युद्धको त्रासका पराकम्पहरू गन्दै
काटिए कयौँ अनिँदा रातहरू ।
स्वदेशको त्यो बीभत्स आतङ्क
अझै पनि स्मृतिको पत्रमा
विषालु खिल बनेर गडिरहेकै छ ।
आज
परदेशको यो बिरानो धर्तीमा
जहाँ सुकुन, सुरक्षा र रोजगारी खोज्दै आइपुगियो
त्यहाँ पनि
यो निर्जीव मोबाइलको ‘ट्युँ-ट्युँ’ आवाजले
ममतामय सन्देश होइन
संहारको साइरन बजाउँछ !
‘सेल्टरमा लुक्न जाऊ’ भन्ने मेसेजले
मनको काँचो शान्तिलाई
पुनः धुजा-धुजा पारिदिन्छ ।
विडम्बना !
आफूसँग न त सेल्टर छ
न त कुनै अभेद्य ओत ।
शान्तिको पर्याय मानिएको यो धर्तीमा
आज बारुदको धुवाँले
हावा निसासिँदो र भारी भएको छ।
अचम्म लाग्छ यो नियति देख्दा
यदि कुनै दिन
बमको भीषण गर्जन सुनिएन भने
त्यो मौनता पनि
एउटा भयानक रिक्तता जस्तो लाग्छ !
मानौँ
युद्ध नै अब यो जीवनको
अनिवार्य ‘लय’ भइसकेको छ।
शान्तिको मृगतृष्णामा
पैताला खियाउँदा खियाउँदै
सधैँ युद्धकै चक्रव्यूहमा
किन अभिशप्त छ यो जिन्दगी ?
यति धेरै अग्निको ताण्डव
र संहारका बीच पनि
आफन्तको न्यानो प्रार्थना
र अग्रजको आशीर्वादले
‘म अझै सुरक्षित छु, कुशल छु’
भन्न पाउँदा
मृत्युको सन्नाटामा पनि
आफूलाई भाग्यमानी ठान्दै
आशाको मधुरो दियो बालिरहेछु ।
अब पुग्यो यो विनाशको अन्धकार !
अब यो दुनियाँबाट
युद्धको कालो बादल
सधैँका लागि बिलाओस्।
धर्तीका हरेक सिमाना र क्षितिजहरूमा
शान्तिको श्वेत प्रकाश
अनवरत टल्किरहोस्
र यो विश्वले सधैँका लागि
चैनको श्वास फेर्न पाओस्
अब शान्ति छाओस् !!

