बिहानीको घाममा
सुनौलो हुन्छ हिमाल
दिउँसो चाँदीमय
बन्छ सन्ध्यामा स्वर्णिम ।
समयसँगै शुष्क भई
फेर्छन् हरिया पातहरूले रङ
फलहरूले पनि
परिपक्वतासँगै फेर्छन् रङ ।
क्षितिज बदल्छ रङ
पानी बदल्छ रङ
भित्ताहरू पनि त बदल्छन् रङ ।
त्यसो त
धेरै रङ बदल्छन् छेपारोहरूले
केही प्राकृतिक
त केही कृत्रिम हुन्छन्
बदलावहरू ।
अब यहाँ देख्न पाइनेछ
आस्थामा बदलिएका रङहरू
उद्यत हुनेछन्
अवसरहरूको सिर्जनामा ।
कृत्रिम बदलावहरू
जहाँ भेटिने छैन कुनै
वाद, सिद्धान्त, नैतिकता
सबै छोपिनेछन् रङहरूले
स्वार्थसिद्धिको लतमा ।
बदल्नेछन् पात्रहरूले आफ्नो कवचको रङ
रङ बदल्नेहरू अब चोकचोकमा देखिनेछन्
गल्ली–गल्लीमा भेटिनेछन् ।
आफू फेरिनुको तर्क स्थापित गर्नेछन्
तर्क विश्लेषण गर्नेछन्
तर्क पुष्टि गर्नेछन्
अन्ततः कार्यसिद्धि गर्नेछन्
पात्रहरूले र प्रवृत्तिहरूले
अब रङ बदल्नेछन् ।

