युगौँ भयो प्रेम, सौर्य, भक्ति
अनि सौन्दर्यगाथामा मसी खर्चेको
चाहे ती मयूर–नृत्यका हुन्
या मृगनयनी अप्सराका
सप्तरङ्गी इन्द्रेणीका हुन् या बहुरङ्गी फूलबारीका
दिग्विजयीका हुन् या अलौकिक रहस्यका ।
सृष्टि र सभ्यताका यी रङ्ग र अङ्गको महिमागान
अब चिरिएको ओठमाथि लिपिस्टिक पोतेजस्तै देखिन थालेको छ ।
समयको बहाबसँगै आफ्नै तृष्णाको दास बनेर
आफैँ चढेको रुखको हाँगा र फेद काट्दै छ मान्छे ।
आफैँ जन्मेको माटोमा, पिउने निर्मल जलमा
सास फेर्ने शुद्ध हावामा मन्द–विषपान गराउँदै छ ऊ ।
ती फगत रुख, माटो, जल र हावा मात्र कहाँ हुन् र ?
ती त जीवन–अस्तित्वको आधार हुन्,
प्रकृतिका सौन्दर्य–परिधान हुन् ।
त्यसैले अब— तिनका कथा र व्यथामा खर्चिनुपर्छ मसी
किबोर्डमा कुदाउनुपर्छ औँलाहरू
किनकि, शब्दले पनि अब युगीन सत्यलाई पछ्याउनुपर्छ ।
आँखीझ्यालबाट चियाउँदा बग्रेल्ती देखिन्छन् दृष्टान्तहरू
श्वेतमालाको सुन्दरता छोप्दै गरेको कालोपोतो
नदीको घाँटी थिचेर सास थुन्दै गरेको दुस्साहस
निर्दयी हातहरूबाट निमोठिएका
र अग्निसमाधिस्थ हुन बाध्य निर्दोष वनस्पति र जीवजन्तुहरू ।
जहाँ जीवन–अमृत फल्नुपर्ने हो
त्यही माटोमा अचेल जहरिला फल पाकिरहेछन्
वायुमण्डलले हरितगृह ग्यासको तातो गलैँचा बुनिरहेछ
धुवाँ र धुलोले सहकार्य गरेर
मनोरम दृश्यहरूमा घुम्टो ओढाइरहेछन्
चराचर जगतमा प्लास्टिकका चौरासी व्यञ्जनको प्रदर्शनी छ
विपद्को ताण्डवलाई बारम्बार निम्तो पठाइँदै छ
र यिनै अपकर्महरूको भेलमा अन्धधुन्ध हाम फालिरहेछ मान्छे ।
देखिँदै छ दिनप्रतिदिन बढ्दै गरेको
लोभी आँखाका गिद्धे निसानाहरू
हठ–निसृत सङ्क्रमित विकारहरू
र आधुनिक शकुनीहरूले बुनेका कुटिल तानाबानाहरू ।
सभ्यताको उन्नयनका नाममा मेसिनका दाह्रानङ्ग्राले चिथोरेर
धराको छातीमा छोडिएका छन् अनगिन्ती कुरूप डोबहरू ।
जगत्का जीवनरेखा नदीका शिरदेखि पाउसम्म
तुलसी र चन्दनको सुगन्ध फैलिने
पवित्र तीर्थ र देवालयका स्तुतिगानमा
शास्त्रका हजारौँ ठेली भरिए होलान् ।
तर तिनलाई ‘हलाहल’ पिलाएर तिनकै अस्मिता र पवित्रता लुट्ने
ती दुष्कर्मीहरूका नमीठो कथा लेख्न
अझै हाम्रा हातहरू नदह्रिएका हुन् कि ?
अब शब्दले ओकल्नुपर्छ धराको ऐठन
सियोले झैँ च्वास्स घोच्ने दृश्यहरू
र सभ्यताको मकुण्डोभित्र लतपतिएको दुर्गन्धित रछ्यान ।
निसाना ताक्नुपर्छ शब्द–क्षेप्यास्त्रहरू
जहाँ क्षितिजसँग मितेरी साइनो गाँसेका
धराका काँध र शिरहरू कुल्चँदै
प्रकट भएका छन् आस्थाका ‘नक्कली अवतार’हरू
जसले प्रकृतिको घाँटी थिच्दै “अहिंसा परमो धर्म” जप्दा
अहिंसा स्वयम् निस्सासिएको प्रतीत हुन्छ ।
अब लेखिनुपर्छ सत्यकथा सहनशील प्रकृतिको
जो मान्छेका कुकृत्यका भारीले थिचिन विवश छ
क्षत–विक्षत छ, अस्तित्व–रक्षाको छटपटीमा छ
र तत्त्वबोधको खोजीमा संवेद्य मौनतामा छ ।
यही गहिरो मौनता नै सायद ‘बुद्धमार्ग’ हो ।

