आँशु
टुट्छ जब बाँध धैर्यको
आँशु बग्छ खोला बनी
अनि छाती भइदिन्छ मूल
जहाँ पीडाले मार्ग बनाउन थाल्छन्
अनि शब्दहरू पनि तरल भएर बग्न थाल्छन् ।
रित्तिन्न जति रित्याए पनि
रोकिन्न जति रोके पनि
त्यो फुटिसकेपछि
जोडिन्न कहीँ पनि
मानौँ हृदय फुटेर नदी बनिसकेछ ।
बग्दा बग्दा खोला सुक्छ
अनि बाँकी रहन्छ सुख्खा बगर
तर, गडगडाहटको खहरेको भेलजस्तै
बग्दै मुटुमा जम्मा हुन्छ
अनि अर्को मूल फुटाउने
मूल आँशु नै बन्छ ।
जब अन्तिम आँशु पनि सुक्छ
त्यो क्षण शान्ति जन्मिन्छ आफैँभित्र
दुःखको मूल माटो बन्छ
र त्यसैबाट उम्रिन्छ करुणाको फूल
जहाँ आँशु र हाँसो
एउटै स्रोतमा विलीन हुन्छन् ।

