साहित्यपोस्ट डट कम

कविता : आँशु

कविता : आँशु

आँशु

टुट्छ जब बाँध धैर्यको

आँशु बग्छ खोला बनी

अनि छाती भइदिन्छ मूल

जहाँ पीडाले मार्ग बनाउन थाल्छन्

अनि शब्दहरू पनि तरल भएर बग्न थाल्छन् ।

रित्तिन्न जति रित्याए पनि

रोकिन्न जति रोके पनि

त्यो फुटिसकेपछि

जोडिन्न कहीँ पनि

मानौँ हृदय फुटेर नदी बनिसकेछ ।

बग्दा बग्दा खोला सुक्छ

अनि बाँकी रहन्छ सुख्खा बगर

तर, गडगडाहटको खहरेको भेलजस्तै

बग्दै मुटुमा जम्मा हुन्छ

अनि अर्को मूल फुटाउने

मूल आँशु नै बन्छ ।

जब अन्तिम आँशु पनि सुक्छ

त्यो क्षण शान्ति जन्मिन्छ आफैँभित्र

दुःखको मूल माटो बन्छ

र त्यसैबाट उम्रिन्छ करुणाको फूल

जहाँ आँशु र हाँसो

एउटै स्रोतमा विलीन हुन्छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.